विराटनगर- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी हुनका लागि मोरङमा १० हजारभन्दा बढीले आवेदन दिएका छन्।
सरकारले स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको आवेदन खुला गरेको थियो। मोरङमा १० हजार एक सय ३४ जनाको आवेदन परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार आवेदन दिनेमा सात हजार आठ सय एक जना पुरुष र दुई हजार तीन सय ३३ जना महिला रहेका छन्।
मोरङमा तीन हजार सात सय २७ जना म्यादी प्रहरीको माग छ। मागभन्दा तीन गुणाभन्दा आवेदन परेको डीएसपी श्रेष्ठले बताए। आवेदन दिनेका लागि चैत १५ देखि २१ गतेसम्म परीक्षा अवधि तोकिएको छ। निवेदन दिनेमध्ये २० देखि ३० वर्ष उमेर समूहका धेरै छन्।
एक महानगरपालिका सहित १७ स्थानीय तह रहेको मोरङमा कुल मतदाता संख्या सात लाख १५ हजार दुई सय २३ रहेको छ। तीन सय मतदान स्थल र आठ सय २० मतदान केन्द्र निर्धारण गरिएको छ।