मनाङ- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन्। यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन्।
आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन्। प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि १४२ जनाको मात्रै आवेदन परेको छ।
उनले भने, 'माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ।' नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका व्यक्तिलाई म्यादी प्रहरीका लागि प्राथमिकता दिइने छ। म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन तथा चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ।