काठमाडौं- राजधानीबाट प्रकाशित आइताबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले प्रधानन्यायाधीश नियुक्तिमा अन्योल देखिएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले साढे ३३ किलो सुन तस्करी प्रकरणमा ठूला माछा समात्न नसकेको विषयलाई प्रमुखताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनवाइ सकिए पनि समितिले बेलैमा निर्णय नलिँदा अन्योल बढेको खबर लेखको छ ।
निर्णय गर्न ढिलाइ हुँदा जोशीको पक्ष–विपक्षमा चलखेलको सम्भावना बढेको जानकारहरु बताउँछन् । स्वतन्त्र र निष्पक्ष रहनु पर्ने न्यायलयबाट हुने निर्णयमा सत्तापक्षले बार्गेनिङ गर्ने मनसायले ढिलाई गरेको हुनसक्ने चिन्ता एक पूर्वप्रधानन्यायाधीशले व्यक्त गरेको कान्तिपुरले उल्लेख गरेको छ ।
यस्तै आजको कन्तिपुरले तीन सरकार तीनतिर शीर्षकमा खबर लेखेको छ । प्रकाशित खबरअनुसार तीनै तह संविधानअनुसार कानुन बनाउन र कार्यान्व्यन गर्न स्वतन्त्र छन् । तर, संघ, प्रदेश र स्थानीय तहका कानुन र नीतिनियम आपसमा बाझ्दा कर असुली, योजना छनोट र स्रोतसाधनको बाँडफँट प्रभावित भएको छ । यस्तै स्थानीय सरकारले मानलागी कर लगाएको विषयलाई पनि कान्तिपुर उठान गरेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने साढे ३३ किलो सुन तस्करी प्रकरणमा ठूला माछा समात्न नसकेको विषयलाई प्रमुख खबर बनाएको छ । खबर अनुसार सुन तस्करीको अनुसन्धान गर्न बनेको समितिले साना व्यक्तिको मात्रै नाम समेटेर यसै साता गृहमन्त्रीलाई प्रतिवेदन बुझाउने भएको छ ।
ठूला व्यापारी, सुरक्षा निकायका प्रमुख अधिकारीदेखि नेताहरुसम्म मुछिनसक्ने आशंका गरिरहेका बेला अनुसन्धान समितिले साना व्यक्तिको मात्रै नाम समेटेर प्रतिवेदन बुझाउन लागेको हो । प्रमाण नपुगेको भन्दै केही व्यापारीलाई शंकाको घेरामा राखिएको अन्नपूर्णले लेखेको छ ।
यस्तै सरकारले देशभरका प्रतिष्ठान र विकास समिति खारेज गर्ने निर्णय गरेसंगै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को भविष्यमा अन्योल उत्पन्न भएको खबर पनि अन्नपूर्णले छापेको छ । उसले विराटनगरको मदरसामा हिन्दु विद्यार्थीले अंग्रेजी पढ्ने गरेको खबर पनि प्रकाशित गरेको छ ।
आजको नयाँ पत्रिकाले भने काम थोरै, प्रचार धेरै भएको भन्दै सरकारको सर्वत्र आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको रिपोर्ट कार्ड बनाउन लागेको खबर मुख्य प्राथमिकताका साथ छापेको छ ।
उसले रेड, एल्लो र ग्रिन जोन गरेर मन्त्रीहरुको वर्गिकरण समेत गरेको छ । रेड जोनमा भने यातायातमन्त्री रघुवीर महासेठ र संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४