काठमाडौं- गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।
नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरूप गैरआवासीय नेपाली संघ तथा बीबी फाउण्डेशनद्वारा संयुक्तरूपमा अक्षरेपी एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।
फाउण्डेशनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले शनिबार दशौं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।
हरेक दुई वर्षमा प्रदान गरिने ‘भवन कीर्ति रत्न’ पुरस्कार गैरआवासीय नेपाली संघको दशौं सम्मेलनका अवसरमा प्रथमपटक प्रदान गरिएको हो।
गैरआवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बीबी फाउण्डेशनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बीबी फाउण्डेशन जनाएको छ।
बीबी फाउण्डेशनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भट्टले नेपालमा तथा नेपाल बाहिर पनि नेपालको विकासको लागि धेरै मानिसले काम गरिरहेका तथा उनीहरू कति जनाले नेपालका लागि राम्रो काम गर्न खोजिरहेको बताउँदै समाजको परिवर्तन गर्न खोजिरहेका सबै सकारात्मक ऊर्जालाई जोड्न यो पुरस्कारले भूमिका खेल्ने बताए।