काठमाडौं- दाङमा राप्ती नदीमा डुबेर एक जनाको ज्यान गएको छ। राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका-८ लापेका अन्दाजी २५ वर्षीय शुक्रराज घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ।
विदेशबाट तीन महिनाअघि मात्रै फर्किएका मगरको नदीमा नुहाउने क्रममा शुक्रबार दिउँसो २ बजेतिर डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, घोराहीमा मानव निर्मित तालमा डुबेर अर्का एक व्यक्तिको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको गौरीशंकर तलाउनमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेऊमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको शुक्रबार बिहान मात्रै शव फेला परेको प्रहरीले जनाएको छ।