काठमाडौं- मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ।
शुक्रबार ठोरीमा बसेको मन्त्रिपरिषद्को बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रलाई प्रदेशकै पहिलो पर्यटकीय गाउँपालिकाको रूपमा घोषणा गरिएको बताए। उनले यस क्षेत्रलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि बताए।
मुख्यमन्त्री राउतले भने, ‘आजको बैठकबाट ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गर्ने र यसका पूर्वाधार, यसलाई पर्यटकीय हिसावले महत्वपूर्ण बनाउनको लागि, पर्यटकीय हिसावले आकर्षण बनाउनको लागि प्रदेश सरकारको तर्फबाट १० करोडको एउटा प्याकेजकै हामी घोषणा गर्ने भएका छौं। जसले गर्दा यस ठाउँलाई अब पर्यटकीय आकर्षणको केन्द्र बनाउनको लागि विभिन्न कार्यक्रम बनाउने छौं। हाम्रो लागि मधेस प्रदेशको लागि यो पहिलो पर्यटकीय पालिका हो। क्रमशः यो प्रदेशका अन्य भागहरुमा पनि हुँदै जान्छ।’
मुख्यमन्त्री राउतले प्रदेशले आगामी दिनमा क्रमशः पर्यटकीय गन्तव्यका रूपमा अन्य आकर्षित स्थानहरुलाई प्राथमिकतामा राखेको पनि बताए। तराई मधेसको ‘मिनी उपत्यका’को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको हो।
भारतसँग सीमानाका जोडिएको कारण पनि यहाँ दिनहुँ हजारौंको संख्यामा भारतीय पर्यटकहरु आउने गर्छन्। जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ। नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गर्दछन्।
पटेर्वासुगौली गाउँपालिकामा पर्ने बाबा दूधेश्वरनाथ महादेव भाठाधाम धार्मिक पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा वैशाख, साउन र माघ महिनामा लाग्ने मेलामा स्वदेश तथा छिमेकी देश भारतबाट लाखौं भक्तजन आउने गर्दछन्। नेपालका चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका बासिन्दा पनि ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेका छन्।
हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ। ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थलहरु छन्।