काठमाडौं- सर्लाहीमा शनिबार बिहान भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद प्रमोद साह घाइते भएका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा जग्गाको बिषयमा दुई पक्षबीच भएको झडपमा संघीय सासद साह गम्भीर घाइते भएका हुन्।
इशवरपुर नगरपालिका-६ स्थित बयलबास बजारमा शनिबार बिहान फूलजोर त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने विषयमा बसेको छलफलमा विवाद हुँदा भएको झडपमा साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
विवाद बढिरहेको बेलामा सांसद् साह त्यहाँ पुगेका थिए। लगत्तै उनीमाथि पनि प्रहार भएको थियो। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते साहलाई स्थानीय अमृत हेल्थकेयरमा उपचारका लागि लगिएको थियो। साह सर्लाही १ बाट निर्वाचित सांसद् हुन्।