चितवन- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्याधीशको संसदीय सुनुवाइ रोकिनु शंकास्पद रहेको बताएका छन् । डेमोक्र्याटिक लयर्स एशोसिएसनको राष्ट्रिय महाधिवेशनान बोल्दै पौडेलले सरकारले प्रधानन्यायधीशको संसदीय सुनुवाइ शंकास्पद ढंगले रोकेको आरोप लगाए ।
'संसदीय सुनुवाइ सकेर तत्काल निर्णय दिने भन्दा पनि दुईतिहाईको दुरुपयोग गर्ने ढंगबाट प्रधानन्यायधीशको संसदीय सुनुवाइ सरकारले रोकेको छ,' नेता पौडेलले भने, 'हामीलाई शंका लाग्न थालेको छ । कतै सत्ताको केहि बार्गेनिङका लागि संसदको दुईतिहाई संख्याको दुरुपयोग गर्ने ढंगबाट त संसदीय सुनुवाई रोकिएको होइन ?'
सरकारले संघीयता र लोकतन्त्र विरोधी काम गरेको भन्दै पौडेलले हरेक सरकारका निर्णय मुलुकलार्इ केन्द्रीकरण गरेको बताए । 'सरकारले मुलुकलाई केन्द्रीकरण गर्दैछ । यो भनेको संघीयता र लोकतन्त्रको विरोधी काम हो । सरकारका हरेक निर्णयले मुलुकलाई केन्द्रीयकरण गरेको छ,' पौडेलले भने, 'अझ सवै मुलुकको शक्ती प्रधानमन्त्रीको हातमा मात्र पार्ने प्रक्रिया सुरु भएको छ । एक जना मान्छेको हातमा सिंगो मुलुकको शक्ती पुग्नु भनेको लोकतन्त्रका लागि खतरा हो ।'
अब राजनीतिका दुई मोडेल मध्ये बेलायती मोडेल कि अमेरिकी मोडेल भन्ने बहस हुन जरुरी रहेको पौडेलको भनार्इ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४