म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुवा कृपसिङको नाममा छ।
६० वर्षीय कमरा विकका दाजुभाइले १० वर्षअघि बितेका बुवाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सकेका छैनन्। हकभोग गर्दै आएको घरजग्गाको लालपुर्जा नभएका चन्द्रमान र कमराका दाजुभाइ २६० घरधुरी भएको गुर्जानिवासीका प्रतिनिधि पात्र मात्र हुन्।
‘नापी ल्याएर जग्गा छुट्टाउन र सदरमुकाम बेनी पुगेर जग्गा पास गरी फर्कन कम्तीमा ५० हजार रुपैयाँ खर्च लाग्छ,’ कमराले भने, ‘सबै भाइ जुटेर सँगसँगै बेनी जान खर्चको समस्या भएकाले लालपुर्जा बनाउन पाएका छैनौं।’
आवादी गरेको जग्गा नापी कार्यालयले बस्तीयोग्य जमिनका रूपमा दर्ता गरे पनि व्यक्तिको नाममा लालपुर्जा नदिँदा त्यहाँका बासिन्दा भूमिहीन भएका हुन्। लालपुर्जा नहुँदा अंशबण्डा र खरिद–बिक्रीमा समस्या छ। भौगोलिक विकटताका कारण सदरमुकामको मालपोत र नापी कार्यालय जान आउन लाग्ने खर्च जुटाउन नसक्ने, प्रक्रिया पूरा गर्न झन्झट हुने भएकाले लालपुर्जा विहिन बन्नुपरेको चन्द्रमानको गुनासो थियो।
‘जग्गा आफ्नो नाममा नभएकाले अप्ठ्यारो पर्दा बैंक तथा सहकारीमा धीतो राखेर गर्जो टार्न पाएका छैनौं,’ उनले भने, ‘कानूनी हिसाबले नाप नक्सा, बिक्रीवितरण र घर कायम गर्न सकेका छैनौं।’
देउराली बस्तीका ३५ परिवारको घरको समेत लालपुर्जा छैन। व्यवहारमा अंशबण्डा र घरजग्गा खरिदबिक्री भए पनि कागजमा नहुँदा विवाद हुन थालेको झगु विकले बताए। ‘ससुरा, जेठा जेठाजु, जेठानी बितेको १० वर्ष भए पनि नामसारी र अंशबण्डा भएको छैन,’ उनले भने, ‘हामीले किनेर घर बनाएको जग्गाको पनि नामसारी गर्न सकेका छैनौं।’
घरजग्गा धितो राखेर बैंक, सहकारी र अन्य वित्तीय संस्थाबाट ऋण लिने सुविधाबाट वञ्चित हुनाका साथै अन्य झमेला पनि हुन थालेको डम्मर बिकले गुनासो गरे। ‘अंशबन्डा र किनबेच भएको जग्गाको नक्साको कित्ताकाट भएको छैन,’ उनले भने, ‘पितापुर्खाले मौखिकरूपमा भाग लगाइदिएको जग्गामा नै बसोबास गरिरहेका छौं।’ रासस