असोज ०४७ मा म काठमाडौंबाट घर फर्किएँ, तरहरा। तन फुरुंग थियो। साँझ गुँडमा फर्किएको चराको बच्चाजस्तो। तर, बेला कुबेला मन बेलगाम भई काठमाडौंतिरै हानिन्थ्यो। ज्यान एकातिर आनन्दमा थियो तर मनको आनन्द कतकता उडिबस्थ्यो। मिनट-मिनटमा राजधानीतिरै कसैसँग कुरा गर्न मन लाग्थ्यो। मोबाइल थिएन।
ल्यान्डलाइन निकै खर्चिलो हुन्थ्यो। त्यसैले मनको तिर्सना मेट्न म लामा-लामा चिठ्ठी लेख्थें। काठमाडौंको कहालीलाग्दो भीडमा सुनकेश्री रानीजस्ती 'ऊ' थिई। म चिठ्ठीमा प्रेमका कथाहरू हाल्थें र फूलबुट्टे माला बनाउँथें। म ती दिनहरू प्रेमको किशोर र कोमल बन्धनमा थिए।
म चिठ्ठी लेख्न माहिर थिएँ। मैले धेरै साथीका प्रेमपत्र लेखें। मैले लेखेका प्रेमपत्रहरू शब्दचित्रजस्ता हुन्थे। म चिठ्ठीमा अनेक घटनाहरू रचना गर्थें र प्रेमजोडीहरूलाई अझ भावुक बनाइदिन्थें। समय नै त्यस्तै थियो कि सेतो कागजमा बान्की मिलाएर जीवनका रंगहरू भरिन्थे। हामी केटाहरू प्रेमपत्र लेख्ने प्रतियोगिता गथ्र्यौं। कसका पत्रले केटीको मनलाई सबैभन्दा धेरै उद्वेलित गर्छन्, उही प्रथम। घमण्डी मैयाहरूलाई पट्याउन कुनै कुनै पत्र त यति मिहिन ढंगले लेख्नुपथ्र्यो कि हप्तौं लाग्थ्यो।
मनको कमलो भागलाई चिमोट्न खोजी खोजी हामी शब्दहरू मिलाउँथ्यौं। म उपन्यासबाट शब्दहरू सापटी लिन्थें। यिनै शब्दहरूलाई प्रेमपत्रमा भर्थें। साथीहरू भन्थे, मेरा शब्दहरूले भावुक मुटुमा करौंती चलाउँछन्। म भने फुरुक्क हुँदै शब्दहरूको फूलबारी बनाइरहन्थें। साथीहरू मेरा शब्दका सुन्दर फूलहरू देखेर इष्र्या गर्थे। परिणाम, जीवन उल्लासमय थियो। सुन्दर थियो। कुनै फिकर थिएन। सपनाजस्तै थिए सबैकुरा।
घरमा बस्दा म पाठ्यपुस्तकमा नभई उपन्यासहरूमा खेलिबस्थें। मुलतः रुसी कथा, उपन्यासहरू त्यसबेला खुबै पढियो। उपन्यास पढ्दा म त्यसभित्रका पात्रहरूसँग खेल्थें, बात मार्थें। मन परेका पात्रसँग डुल्न निस्कन्थें। सपनाका रंगीन पहाडतिर डुल्नुको मजै अलग। मैले पढेका उपन्यासजस्तै थिए, मेरा सपनाहरू। त्यसैले सपनाजस्तै हुन्थे चिठ्ठीहरू पनि। मेरा चिठ्ठीहरू पढेर काठमाडौंमा कसैले मन अझ चञ्चल र काव्यिक बन्छ भन्ने अनुभूतिले म उता तरहरामा फुरुंग हुन्थें।

मैले प्रकाश कोविददेखि टोल्सटोयसम्मका उपन्यासहरू पढें। निकोलाई आस्त्रोभस्कीको अग्निदीक्षा मेरा लागि बेजोड थियो। यो उपन्यासमा जीवन हुरीजस्तै चल्छ। नायक पावेल कर्चागिनको जीवन विचित्र छ। साहस, प्रेम, आस्था र सपनाहरूको बेमिसाल जिन्दगी। पावेलले प्रेम गर्छ। पावेलले युद्ध गर्छ। पावेलले पढ्छ। लेख्छ। पावेलले देशलाई माया गर्छ। समाजलाई माया गर्छ। ऊ विश्राम लिँदैन, सधैं गतिशील हुन्छ। कहिल्यै हार्दैन। जीवनको अन्तिम मोर्चा पनि जितेरै छोड्छ।
मलाई उसको चरित्रले प्रभावित गर्यो। लाग्यो, यो हो जीवन। मैले मेरो नायक भेटें। त्यही दिनदेखि मैले आफूलाई पावेलजस्तै ठान्न थालें। त्यसपछि मेरा चिठ्ठीहरूमा पनि पावेल कर्चागिन आउन थाल्यो। पावेल र रीताको निकै मनमोहक प्रेम छ, अग्निदीक्षामा। म त्यस्तै मनमोहक प्रेमको उत्सुकताले भरिएँ। म पावेल कर्चागिन हुन चाहन्थें। मैले उनलाई 'रीता' नाम दिई पत्रमा लामो कविता पठाएँ। उसले सम्झाई, 'केशव केही नयाँ गर, आखिर चिठ्ठी मात्र लेखेर त कसरी पावेल कर्चागिन हुन सकिन्छ र ?'
हो त, केही त गर्नै पर्यो ? तर, के गर्ने होला ? म केही उधुम गरेर उसलाई प्रेमको उपहार दिन चाहन्थें। म पावेल कर्चागिन हुन चाहन्थें। भख्खर प्रजातन्त्र आएको थियो। हामी भन्थ्यौं, प्रजातन्त्र भनेको सपना हो। तर, मान्छेहरू पाखुरा खैंचिएर कुरा गर्थे। घरायसी कुरा गर्दागर्दै राजनीति निस्कन्थ्यो। अनि विवाद शुरु हुन्थ्यो।
चोकमा चिया खान गएका साथीहरू फर्किँदा शत्रु भएर फर्किन्थे। मन्दिरदेखि मधुशालासम्म प्रजातन्त्र लागेको थियो। विवाह, ब्रतवन्ध, मलामी सबै प्रजातन्त्रको प्रभावमा थिए। राजनीतिक दलबाहेक परिवार, आफन्त, मित्र र छिमेकी सबै मूल्यहीन थिए। प्रजातन्त्रको आँधीबेहरी थियो गाउँमा।
आज अचम्म लाग्छ, प्रजातन्त्रले सबै छुट गरेको थियो। झगडा गर्न छुट। मस्त जाँड खाएर श्रीमतीलाई भकुर्न छुट। बिहानभरि चिया पसलमा बसेर राजनीतिका अन्तहीन विवाद गर्न छुट। माक्र्स बन्न छुट। बीपी बन्न छुट। अप्ठ्यारा शब्दहरूको नबुझिने रहस्य छर्न छुट। गफ गर्दागर्दै लाठी मुंग्री चलाउन छुट। बीच चोकमा आमसभा गर्न छुट।
सभामा जे मन लाग्छ, त्यही भाषण गर्न छुट। अरूलाई गाली गर्न छुट। आफ्नो गुणगान गाउन छुट। सपना देख्न पनि छुट, निमोठ्न पनि छुट। यस्ता धेरै छुटहरूमध्ये रोजी-रोजी काठ चोर्न पनि छुट थियो। जंगलमा गोरुगाडाको मेला लाग्थ्यो र जताततै 'लकडीचोर'हरूको बिगबिगी थियो।
मलाई लाग्यो, पावेल कर्चागिन हुने बेला आयो। बुढापाकाहरू भन्थे, केटाहरू असलै हुन् तर काम लाग्दैनन्। लाग्यो बुढाहरूलाई देखाइदिने बेला आयो। म मेरी काठमाडौंमा बस्ने रीतालाई पावेल कर्चागिनको तमासा देखाउन चाहन्थें। एक दिन साँझको कुरा हो। हामी अल्लारेहरूले सल्लाह गर्यौं कि अब जंगल जोगाउनुपर्छ। यो हामीजस्तै नौजवानको काम हो। गज्जबको 'आइडिया' आयो। जंगल गस्ति जाने, काठ चोरलाई समाउने र रातारात नाम चम्काउने।
हामीले आफ्नो 'मिसन'लाई देशभक्तिसँग जोड्यौं। त्यो साना कुरा गर्ने जमाना थिएन। हामीले निश्कर्ष निकाल्यौं कि आजको क्रान्तिकारी काम यही हो। काठ चोर्नेहरू सब गद्दार हुन्। देशका असली सपुत त हामी हौं। हामीले अब जंगल बचाउनुपर्छ।
यो विचारले हाम्रो समूहलाई उत्साही बनायो। कसम खायौं, काठ चोर्नेलाई नांगेझार नपारेसम्म हाम्रो 'मिसन' जारी रहने छ। मनमनै हामी फुरुंग भयौं। त्यसपछि गाउँलेहरूले हाम्रो बहादुरीको प्रशंसा गर्नेछन्। हामी असल युवा हुनुको मिसाल खडा गर्नेछौं। यसरी जंगल बचाउने योजना गोप्यतापूर्वक तयार भयो।
गाउँमै वन कार्यालय थियो। त्यहाँ हाम्रो गोप्य बैठक बस्यो। रेन्जरसँग सल्लाह गरियो। कुरा मिल्यो। जिल्ला वन कार्यालयबाट गस्तिका लागि दुई वटा टिपर मगाइयो। हाकिमहरूका लागि रातो बत्ति र साइरन भएको सानो गाडी पनि आइपुग्यो। हामी साँझ ७ बजे वन कार्यालय अगाडि जम्मा भइसकेका थियौं। मेरो पावेल कर्चागिन मसँगै थियो।
हामी ३७ जना युवा, थोत्रा बन्दुक बोकेका सात जना वनपाले, दुई जना रेन्जर। ४६ जनाको हाम्रो टोली राति ८ बजेतिर चारकोसे झाडीको गस्ति लगाउन तरहराबाट उँभो लाग्यो। एउटा गतिलो काम हुँदै थियो। म छाति तन्काएर टिपरको पछाडि उभिएँ। हैट, आफू खतरनाक मान्छे हो भन्ने आफैंलाई भान भयो। उमंग थियो। सपना थियो। तनाव र उत्साह सँगसँगै थियो। हाम्रो गाडी जंगलको शान्तिलाई बीचबाट चिर्दै अगाडि बढ्यो।
जंगलमा अन्धकार थियो। टिपरको आवाज अग्ला रुखहरूमा ठोक्किँदा कतै आँधी सुसाएजस्तो सुनिन्थ्यो। चराहरू अतालिँदै उड्थे। लाटकोसेरो त्रासले कराएको सुनिन्थ्यो। गाडीको हेडलाइटमा किराहरू ठोक्किन्थे। हामी फायरलाइन हुँदै जंगलको गहिराईभित्र पसिरहेका थियौं। पछाडि फर्किएर हेर्दा जंगल अँध्यारो सुरुङजस्तो लाग्थ्यो। मिसन भयानक थियो।
हाम्रो गाडीमा चार जना वनपाले पनि सँगै थिए। उनीहरूसँग बन्दुक थियो। उनीहरू मौन थिए। शायद उनीहरूलाई मिसनको गम्भीरता थाहा छ। तर, हामी मगनमस्त थियौं। रोमाञ्चित थियौं। एक जना पालेले हामीलाई विस्तारै बोल्न संकेत गर्यो। बन्दुक भएर पनि ऊ डराएको थियो। हामी खाली हात थियौं तर डर कतै थिएन।
जंगल छिरेको त्यस्तै आधा घण्टामा हामी रोकियौं। सानो चौरजस्तो ठाउँ थियो। सबै गोलो घेरामा उभियौं। रेन्जरले कडा निर्देशन दिए। समूहमा हिँड्ने, अनावश्यक नबोल्ने। एक्सन गर्नुपर्दा वनपालेको निर्देशन मान्ने। कुनै गडबडी भए बन्दुक बोक्नेहरूको पछाडि आउने। अप्ठ्यारो स्थिति आए वा जंगलमा हराए गाडीको साइरन सुन्ने र रातो बत्तितिर दौडिने।
रेन्जर सा'पको निर्देशन बोकेर हामी पैदल अगाडि बढ्यौं। एक घण्टा हिँडिसकियो, शिकार कतै छैन। जंगल निकै बाक्लो थियो। माथि आकाशमा ताराहरू समेत देखिँदैनथे। रुखमा अल्झिँदै, झाडी पन्छाउँदै, बाटो पहिल्याउँदै अँध्यारोमा हिड्नु निकै अप्ठ्यारो थियो।
वनपालेले संकेत गर्यो। हामी उभियौं। पर केही आवाज सुनियो, स्यार स्यार स्यार ....। अब पक्का भयो शिकार नजिकै छ। काठ तस्करहरू काठ चिर्दैछन्। लौ मिसन अन्तिम चरणमा छ। हाम्रो सास फुल्यो। रौंहरू ठाडा भए। वनपालेको निर्देशनमा आरा र धरानलाई घेरा हालियो। यो क्षण जीवनकै सबैभन्दा रोमाञ्चक क्षण थियो।
रगत नसाहरूमा वेगले कुद्दै थियो। होश थिएन। बिजुली चम्किएको गतिमा हामीले एक्सन गर्यौं। दुई वटा गोरुगाडा, दुई जना काठ चिर्ने आरावाला र अरू चार जनालाई समातियो। मिसन सफल भयो। हामी विजय उल्लासमा चिच्यायौं।
हामी फर्किन थाल्यौं। तर, विचित्र भयो। जति हिँडेपनि हामीले गाडी राखेको स्थान पहिल्याउनै सकेनौं। हामी जंगलमा हरायौं। शायद जंगलको मात लाग्यो। जंगलमा फसियो। हामी हराएको दुई घण्टा जति भयो होला। ठीक त्यहीबेला होहल्ला भयो। सपनाजस्तो। कुनै चलचित्रजस्तो। साँच्चैको महान पाषण युद्धजस्तो। 'हान', 'मार', 'ठोक', 'खोस'ले जंगल गुञ्जियो। हामीलाई काठ चोरहरूको समूहले अघि नै घेरा हालिसकेछन्।
हाम्रो समूहमाथि सयौं मान्छेले एक्कासी हमला बोले। यस्तो त सपनामा पनि देखिएको थिएन। हामी विजयको उन्मादमा थियौं। यस्तो बेला बीच जंगलमा गुरिल्ला आक्रमण भयो। हामी सम्हालिन नपाउँदै हाम्रो टोली छिन्नभिन्न भयो। म आफू पनि भागें। कता भागें थाहा छैन।
केहीबेरपछि भरुवा बन्दुक पड्किएको आवाज सुनियो। अनि, विस्तारै होहल्ला शान्त भयो। म अजंगको जमुनाको रुखमा टाँसिएको रहेंछु। सास फुलिरहेको थियो। कतै चियाउन खोज्दा कसैसँग ठोक्कियो। अब मरियो भन्ने लागेको थियो तर आफ्नै साथी रहेछ। हामी मृत्युको मुखबाट बचेका दुई जना अभागीहरू २० मिनटजति एकअर्कोलाई हेराहेर गरेर बस्यौं।
रेन्जरको निर्देशनअनुसार अब गाडीको साइरन सुन्ने र रातो बत्तिमा ध्यान दिने कुरा थियो। तर, आधा घण्टासम्म पनि यस्तो संकेत कतैबाट आएन। खोजी हेर्दा बत्तिवाला गाडी त नजिकै रहेछ। तर, त्यहाँ न त साइरन बजाउने मान्छे थियो, न त रातो बत्ति बाल्ने नै।
सबेरै गाउँमा हल्ला फैलियो। हल्ला निकै ठूलो थियो। बिहान सात बजेसम्ममा वन कार्यालयमा सयौं मान्छे जम्मा भइसकेका थिए। हामीलाई हेर्न उत्सुकहरूको ठूलै भीड थियो। कोही हाम्रो तारिफ गर्दै थिए। कसैले हाम्रो सत्यनास होस् भनी कराउँदै गरेको सुनिन्थ्यो। कोही हिजो मस्त पिएको रनाहामा गाली र तारिफ एकैपटक गर्दै थिए। मलाई लाग्यो, लौ पावेल कर्चागिनले करामत गरेरै छोड्यो।
बिहान मात्र थाहा भयो, हामीले समातेका गोरुगाडा उनीहरूले नै खोसेछन्। आरावालहरू भागेछन्। मतियारमध्येका तीन जना फुत्किएछन्। एक जनालाई ल्याइएछ। जे होस्, मिसन व्यर्थ भएन। एक जना हात लाग्यो। उसलाई रेन्जर कार्यालय ल्याइयो। पूरा दिन होहल्ला र जिज्ञासामा बित्यो।
अब के हुन्छ ? जवाफ कसैसँग थिएन। दिउँसो जिल्ला वन कार्यालयबाट ठूला हाकिमहरू आए। नेताहरूको पनि राम्रै उपस्थिति भयो। प्रहरी, प्रशासनको ठूलै भीड लाग्यो। चर्चाको केन्द्रमा हामी थियौं। मेरो लागि त्यो उमेरमा नायक बन्नुको आनन्द अमूल्य थियो। म सपनाहरूको सगरमाथा बनाउँदै थिएँ, एक्कासी सगरमाथा नै पो चढें। मैले आफ्नो प्रेमका लागि एउटा बहादुरी गरेको थिएँ।
त्यो सालको असोज सकिँदा नसकिँदै यो घटनाको चर्चा सकियो। मैले नयाँ उपन्यास पढ्न शुरु गरे। मैले नयाँ कलेजमा आफ्नो नाम लेखाएँ। मेरी रीताका लागि त्यसपछि पनि मैले अनेक पत्रहरू लेखें। तर, पत्रहरूले मात्र हाम्रो भावुक प्रेम युद्धलाई पार लगाउन सकेनन्। मलाई लाग्यो, उपन्यासमा जीवन जस्तो लेख्यो, त्यसरी नै अगाडि बढ्छ। तर, यथार्थमा जीवन कथाजस्तो हुँदैन। मैले बुझें, मेरो प्रेम, मेरो सपना र मेरो लोकतन्त्र सबका सब कुनै भावुक कविका रचनाहरू हुन्। जसलाई पढ्न त मजा आउँछ तर भुईंको जीवनसँग तिनीहरूको कुनै साइनो हुँदैन।
आज सम्झिँदा अत्यास लाग्छ, मेरा साथीहरू कहाँ छन् र म कता आइपुगें ? मेरा गाउँका दौंतरीहरू अहिले धेरै विदेशतिरै छन्। शायद कोही मरुभूमिमा बाख्रा चराउँदै होलान्। कोही तातो बालुवामाथि सडक बनाउँदै होलान्। म आफैं भने पावेल बन्न नसकेर शहरतिर बरालिँदै छु।
लाग्छ, जीवन नैय्या त समुद्रको उथलपुथलकारी लहरमा चक्कर मार्दै पो रहेछ। हिजो मात्र मेरो एक जना साथीले मलाई केही प्रश्न गर्यो। उसले सोध्यो, 'साथी किन हाम्रा सपनाहरू मरे ? किन हजारौं पावेलहरू आफ्नै सपनाहरूको मलामी जान्छन् यो देशमा ? के सपनाहरू मर्नकै लागि मात्र देखिन्छन् र ?' मैले भनें, 'पख यार, राजधानीमा नाम चलेका केही दरबारहरू छन्। तिम्रा प्रश्नको जवाफ त्यतै खोजौंला।'
अहिले म तिनै प्रश्नहरूको उत्तर खोज्न काठमाडौंको सडक, धुलो र धुवाँ झेलिरहेको छु। मैले ती दरबारहरूको गजुर त देखेको छु तर गजुरले उत्तर दिँदैनन्, मान्छे बोल्दैनन्। के गर्ने होला ? मलाई लाग्छ, उत्तरहीन हुनु नै आजको मुख्य संकट हो।
लेखकलार्इ ट्वीटरमा भेट्न सकिन्छ ।