काठमाडौं- गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ मा विशेषज्ञ स्तरीय निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदैछ। निजामती कर्मचारी श्रीमती संघको आयोजनामा शुक्रबार र शनिबार गरी दुईदिन स्वास्थ्य शिविर गरिन लागेको हो।
वडा नम्बर ४ को हिमालय माध्यमिक विद्यालय भवनमा हुने शिविरमा छाला तथा यौन रोग, सामान्य चिकित्सा सम्बन्धी, आँखा सम्बन्धी निःशुल्क शल्यक्रिया गरिने छ। यस्तै दन्त रोग, मुटु रोग, बाल रोग, बाथ रोग, हाडजोर्नी, नाक, कान र घाँटी सम्बन्धी, मिर्गौला रोग सम्बन्धी निःशुल्क परीक्षण गर्नुको साथै इसिजी, इकोकार्डियोग्राम, भिडियो एक्स–रे, पिसाब, रगत लगायतका जाँच गरिने आयोजक टोलीले बताएको छ।
त्यस्तै, प्रसूति तथा स्त्री रोग, आङ खस्ने रोगको स्क्रीनिङ गर्ने र आङ खस्ने बिरामीको शल्यक्रिया भने थापाथलीस्थित प्रस्तुति गृहमा गरिने छ।
शिविरमा वीर अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका विशेषज्ञ टोलीको सहभागिता रहनेछ।