काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका भ्रमणमा नजाने भएका छन्। यसअघि प्रधानमन्त्री देउवाले यही चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने कार्यतालिका तय भएको थियो।
श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यसतर्फ जाने तय भएको थियो।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले गत फागुन २३ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत प्रधानमन्त्री देउवा श्रीलंका जाने घोषणा गरेका थिए।
‘प्रधानमन्त्रीज्यु श्रीलंका नजाने हुनुभएको छ। बिमस्टेक सम्मेलनलाई उनले भर्चुअल सम्बोधन गर्नुहुनेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी सात राष्ट्र सदस्य रहेका छन्।