काठमाडौं- कालो ‘स्ट्रेट’ कपाल, श्वेत गोलाकार अनुहार। बाइकको पछाडि बसेकी रोशनी अधिकारीको चित्र हो यो।
प्रदर्शनी मार्गस्थित नेपाल ल कलेज अघिल्तिर भेटिएकी उनको ‘लुक्स’ शुरुमा यस्तै देखिएको थियो। गोरखा अजिरकोट काफलडाँडाकी उनी बीएएलएलबी पहिलो सेमेस्टरकी विद्यार्थी हुन्। कलेजको ड्रेसमा निकै स्मार्ट देखिएकी थिइन्। जन्मैदेखि नेत्रहीन रोशनी वकिल बन्ने लक्ष्यसाथ कानुन विषय पढिरहेकी छन् ।
कानुन पढ्छु भन्दै गर्दा उनलाई कसैले सोधेको थियो, आँखा नदेख्नेले कसरी न्याय दिन सक्छौ? ‘लेडी जस्टिस,’ उनले जवाफ दिएकी थिइन्, ‘न्यायमूर्तिका आँखामा पट्टि बाँधिएको हुन्छ। र, हातमा तराजु हुन्छ। त्यसैले, आँखा देख्नेले मात्र न्याय दिन सक्छन् भन्ने होइन।’
आँखा नदेखेर के भो र! रोशनी सानैदेखि मेधावी छात्रा हुन्। सामाजिक, नेपाली, अंग्रेजी विषय अध्ययन गर्न उनलाई खासै समस्या छैन। तर, गणितमा उनले बढी समस्या बेहोर्नुपर्छ। स्कुले जीवनमा गणितको गृहकार्य गर्नुपर्दा उनलाई आफूले पनि आँखा देख्न सक्ने भए हुन्थ्योजस्तो लाग्थ्यो।
कीर्तिपुरको ल्याबोरेटरी स्कुलबाट एसएलसीमा ‘डिस्टिङ्सन’ ल्याएकी थिइन्, उनले। साउथ वेस्टर्न कलेजबाट पत्रकारिता, सोसोलोजी र मेजर इंग्लिसमा प्लस टु गर्दा पनि ‘डिस्टिङ्सन’को श्रेणी घट्न दिइनन्। नेपाल ल क्याम्पसमा प्रवेश परीक्षा (इन्ट्रान्स) दिँदा उनी नौ सय एक जनालाई उछिनेर पहिलो भइन्।
जीवनलाई दृष्टिविहीन हुनुको लघुताभाष हुन दिएकी छैनन्। उनको त्यो समस्या हटाउन बाबु-आमाले धेरै मिहिनेत गरे। नेपालका सबैजसो आँखा विशेषज्ञ चिकित्सकलाई देखाए। उपचार सम्भव नभएको निष्कर्ष निस्कियो।
चिकित्सकसँगै उनका पिता रामप्रसाद अधिकारीले पनि निष्कर्ष निकाले, रोशनीको सबलता केलाएर उनको जीवन सुन्दर बनाउने। रोशनीलाई बाबु–आमाले सदैव प्रोत्साहन र साथ दिइरहे।
पढाइका साथमा अतिरिक्त क्रियाकलापमा पनि लाग्न प्रेरित गर्छन्, उनका बाबु–आमा। विभिन्न पुस्तक पढेर सुनाउँछन्। ‘मेरो सफलताको रहस्य मेरा बुवा–आमा नै हुनु हुन्छ,’ उनी भन्छिन्, ‘यतिको ‘इन्करेजिङ’ बाबा–आमा पाउनु मेरो भाग्य हो।’
कतिसम्म भने गुडिया खेलाउने उमेरमा उनी ब्रेल लिपीको अध्ययनमा तल्लिन थिइन। उनलाई जसरी भए पनि अँध्यारो संसारभित्र उज्यालो भविष्यको गन्तव्य पहिल्याउनु थियो।
होस्टेलमा बसेर पढेकी उनी १० वर्ष मुनिका बच्चालाई घरमै राख्न सल्लाह दिन्छिन्। घरमा जस्तो वातावरण बच्चाले होस्टेलमा नपाउने उनको धारणा छ । होस्टेल बस्दा उनले महिनामा एक पटक घर जान पाउँथिन् । ‘फेरि होस्टेल फर्किन मन मान्दैनथ्यो,’ उनी भन्छिन्।
उनका बाबु रामप्रसाद गोरखामा सुर्यज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। अहिले एक सहकारी र राजनीतिमा लागेका छन् । आमा महेन्द्र राष्ट्रिय माविमा शिक्षिका हुन्।
शुरुमा समस्या नदेखिएका उनका भाइमा पनि विस्तारै आँखाको कमजोरी देखा परेको छ। चिकित्सकहरूले उनको पनि उपचार हुन नसक्ने बताएका छन्।
रोशनीले प्रारम्भिक शिक्षा अाहले गोरखा, श्री सरस्वती माध्यमिक विद्यालयबाटै प्राप्त गरेकी हुन्। तर, त्यहाँ ब्रेल लिपीको सुविधा
भएपनि उच्च शिक्षाका लागि रामप्रसादले कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा भर्ना गरिदिएका थिए ।
वकिल बनेपछि उनी अपांगता भएका व्यक्तिहरू र महिलाको अधिकारका लागि आवाज उठाउने योजनामा छिन्।
आँखा बन्द गरेर मानिसले एक पाइला सार्न सक्दैन। रोशनी भने यही अन्धकारमा आफ्नो संसार निर्माणको यात्रामा छिन्।
प्रविधिको विकासले उनलाई अध्ययन अगाडि बढाउन सहज भएको छ। ‘ स्क्यानर’ उनका लागि भरपर्दो माध्यम बनेको छ। ल्यापटप र मोबाइलमा ‘स्क्रिन रिडिङ सफ्टवेयर’ उनका लागि वरदान सावित भएको छ।
सानैदेखि उनी अतिरिक्त क्रियाकलापमा संलग्न थिइन्। त्यो लगावलाई कमि हुन दिएकी छैनन् । ‘अन्तर–उपत्यका साउन्ड टेबल-टेनिस’को विजेता हुन्, रोशनी । हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिताहरूमा उनले कहिल्यै हार्नु परेको छैन । बुद्धिचाल (चेस) पनि उनको रुचिको खेल हो।
२०७४ सालको उच्च माध्यमिक विद्यालय लैंगिक अध्ययन विषयमा ‘टप’ गरिन्, उनले । र, शमी साहित्य प्रतिष्ठान, काठमाडौंले २० हजार नगदसहित समता लैंगिक अध्ययन पुरस्कार प्रदान गर्यो ।
पुस्तकालयहरू मात्र होइन, शौचालय, सडक, विश्वविद्यालय र कार्यालयहरू कुनै अपांग मैत्री हुन नसकेकामा उनलाई चिन्ता लाग्छ। संविधानले नै व्यवस्था गरेको अपांग विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था सरकारले कार्यान्वयनमा नल्याएकामा उनी दुःखी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४