विराटनगर- मोरङको लेटाङ-५ मा गत आइतबार राती महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनील लिम्बू, पासाङ तामाङ, अश्विन तामाङ, सञ्जीव प्रधान, कान्ता लामा, युनिस कट्टेल, प्रह्लाद खड्का, श्रवण यादव छन्। प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ।
पक्राउ पूर्जी जारी भएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ। लेटाङ घटनामा मृतक परिवारले १९ जना विरूद्ध किटानी जाहेरी मोरङ प्रहरीमा दिएका छन्। सोही आधार र घटनाको अनुसन्धान गर्दै प्रहरीले शंकास्पद व्यक्तिहरु पक्राउ गरेको हो।
घटनापछि लेटाङ क्षेत्रबाट प्रहरीले तीन दर्जन बढी स्थानीयलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। अहिलेसम्ममा ४० भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ।
घटनाको छानबिनको लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले ५ सदस्यीय छानविन समिति गठन गरेको छ।