विराटनगर– ‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा १ मा पेश भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव पेश गरेका हुन्।
उनले यो विधेयकले संविधानप्रदत जनताका अधिकारलाई स्थापित गर्न मद्दत गर्ने बताए। प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ को समितिको प्रतिवेदन पनि सभामा पेश भएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम अर्थ समितिका सभापति मोहनचन्द्र खड्काले पेश गरेका थिए।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विभिन्न समयमा सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै विगतका सरकारले बजेट निर्माणमा आफ्नो प्राथमिकतामा चुकेको आरोप लगाए। उनले पहिलो चौमासिक सकिन लागेको समयमा वर्तमान सरकार बनेको स्पष्ट पार्दै सरकार बजेट कार्यान्वयनमा लागिपरेको बताए।
मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रमा दीर्घकालीन दायित्व सिर्जना गर्ने योजनामा बजेट काटिएको उल्लेख गर्दै विगतका सरकारले मूल योजनाबाहेक टुक्रे योजनामा बढी ध्यान दिएको बताए। बहुवर्षीय योजनामा विनियोजित बजेटभित्र रहि खर्च गर्न सम्बन्धित निकायलाई अधिकार दिएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्तिममा प्रदेश सरकारले ९० प्रतिशत बजेट खर्च गरिसक्ने उल्लेख गरे।