काठमाडौं- ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप मन्थली घरभइ जडिबुटी बस्ने १९ वर्षीय राजेश बुढाथोकी, दोलखा नाम्दुका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर थिमिका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे घरभइ राधेराधे बस्ने २३ वर्षीय प्रविण नेपाल र रामेछाप खाँडादेवी घरभइ जडीबुटी बस्ने २७ वर्षीय सञ्जिव मोक्तान रहेका छन्।
आर्थिक कारोबार तथा प्रेम सम्बन्धी विवादमा उनीहरूले खड्कालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते खड्काको ट्रामा सेन्टरमा उपचार भइरहेको छ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले उनीहरूलाई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि बिहीबार महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको बताएका छन्।