काठमाडौं- प्रेमिल मनहरू प्रेमका खातिर राधाकृष्ण भइदिएका छन्। त्यस्तै प्रेममा समर्पित पात्र हुन्, राधा। कृष्ण फर्किने प्रतीक्षामा जीवनभर एक्लै भइन्। तिनै राधाको प्रेमलाई सबैले बुझ्ने गरी कृष्ण धरावासीले ‘राधा’ उपन्यासमा छताछुल्ल पारिदिए। उनी भन्छन्, ‘आजसम्म राधाकृष्णलाई पुज्नु भनेको प्रेमलाई पुज्नु हो।’
प्रेम कहिल्यै तुहिँदैन, नासिँदैन। परिभाषाले प्रेमलाई जहिल्यै संकुचित गर्छ। धरावासी भन्छन्, ‘प्रेमलाई स्थापित मान्यता र सिद्धान्तहरूको बाकसमा हालिदियो भने न्याय हुँदैन।’
प्रेम आफैंमा स्वेच्छिक हो। तर, प्रेमलाई समाजले एउटा दायरामा राखिदिएको छ। प्रेमलाई मान्छेले आफ्नो नीति-नियमभित्र कोचिदिएर ढिल्मिलाइदिए। र पनि, प्रेम आफ्नै लयमा बाँचिरह्यो ।
कृष्णको प्रेमिल जीवन
अल्लारे उमेरमा धरावासी पनि प्रेममा थिए। उनी भन्छन्, ‘सीताजीसँग बिहे हुनुअघि म प्रेममा थिएँ।’
उनी सीताजीसँग बिहेपछि गृहस्थीमा लागे। र, भइरहेको प्रेम छुट्यो। तर, उनलाई पहिलो प्रेम छुटेकोझैं लाग्दैन। मात्र भौतिक शरीर छुटेको महशुस गर्छन्, उनी।
धरावासी जीवनका पहेलीहरूमा त्यो पहिलो प्रेमलाई सम्झिन पुग्छन्। उनी भन्छन्, ‘राधाको प्रेम सीताजीको जस्तो नभएर मेरो पहिलो प्रेमको हो की!’
राधा पढेर नरूने को होला? उनको प्रेमले हरेक पाठकलाई छुन्छ। के राधाकृष्णको प्रेम धरावासीको पहिलो प्रेमको प्रेरणा थियो होला त? उनी भन्छन्, ‘प्रेम सबैलाई चाहिन्छ तर सबैले पाउन सक्दैनन्।’
प्रेम निरपक्ष हुन्छ। हामी निरपक्षताकै कुरा गरिरहेका हुन्छौं। तर, लोग्ने मान्छे भएकाले पूर्ण निरपक्ष हुन सकिन्न। उनी भन्छन्, ‘बढीभन्दा बढी निरपक्ष हुन त सकिन्छ। अति आकर्षणबाट मुक्त हुन सक्नु त पर्छ।’
प्रेम यौनसँग जोडिएर आउँछ। विपरित लिंगीबीचमा अंकुराउँछ, प्रेम। तर, सबै प्रेम दहित प्रेम हुँदैन। र, सबै प्रेम शारीरिक सम्भोगसँग जोडिँदैन। प्रायः सम्भोग गरेपछि धेरैको प्रेम टुट्छ। स्त्रीहरूले भन्छन्, मेरो शरीरको भोग गर्यो र त्यागी दियो।
धरावासी भन्छन्, ‘यदि तपाईं प्रेमलाई सुरक्षित राख्नुहुन्छ भने सम्भोगसम्म जान नदिनूस्। भावहरूले प्रेम उत्पन्न हुन्छ। प्रेमले शरीरलाई खोज्दैन। तर, हिरिक्क हुने माया लाग्न सक्छ। आत्माभन्दा पनि माथि प्रेमलाई लैजान सक्नुपर्छ।’
कृष्णले राधा खोजिरहे। हजारौं गोपिनीसँग सम्बन्ध राखिसक्दा पनि राधाकै खोजीमा कृष्ण हुन्छन् र राधा पनि कृष्णकै प्रेमले विक्षिप्त भइरहिन्। कृष्णले गोपिनीलगायत रूक्मिणीको कुरा गर्दैनन्। तर, राधालाई उनी पटक-पटक चाहिरहेका हुन्छन्। उनी भन्छन्, ‘देहमुक्त प्रेम जहिल्यै आकर्षित् र दिगो हुन्छ, त्यसैले राधाकृष्णको प्रेम चर्चित छ।’
आयामेली जीवन
धरावासी जीवनलाई बडो कलात्मक मान्छन्। उनले आफूलाई तेस्रो आयाममा जीवन भेटेको ठान्थे। ०४०-४५ सालतिर उनी बैरागी काइँलाको संगतले तेस्रो आयामकै आधारमा हेर्थे। उनले तेस्रो आयामलाई गोला साहित्य मानेर हिँडेका थिए। उनी भन्छन्, ‘त्यतिबेला आयामेलीहरूले चेप्टो साहित्य भन्थे।’
तेस्रो आयाम अगाडि लेखिएका साहित्यहरू एउटै दृष्टि र एउटै परिभाषित ठानिन्थ्यो। जुन कालखण्डमा लेखिएको साहित्य भए पनि हरेक युगमा प्रतिनिधित्व गरेको हुनुपर्ने आयामेलीहरूको सिद्धान्त थियो। समयसँगै बग्ने साहित्य लेखिनु पर्छ भन्ने आयामेली आन्दोलन नै चल्यो। जसका हर्ताकर्ता थिए, ईश्वर बल्लभ, बैरागी काइँला र इन्द्रबहादुर राई।
जेठ ०२० मा तेस्रो आयामेली भन्ने पत्रिका निस्कियो। तर, धारावासी ०१७ सालमा जन्मिएकाले पत्तो पाउने कुरै भएन। पछि ०४० सालतिर उनले अध्ययन गर्दै जाँदा मन पराएका थिए, तेस्रो आयाम।
तेस्रो आयाम शुरु हुँदा ईश्वरबल्लभ २७ र इन्द्रबहादुर राई ३३ वर्षका थिए। र, बैरागी काइँला २५ वर्षका थिए। धरावासी भन्छन्, ‘यही सेरोफेरोमा इन्द्रबहादुर राईले नै ०३४ सालदेखि लीलालेखनको कुरा गर्नुभएको थियो।’
पुस ०३४ मा पहिलो लेख काठमाडौंबाट छापिने पत्रिका रूपरेखाको दुई सयौं अंकमा ‘भ्रान्तिहरू र लीलालेखन’ शीर्षकमा प्रकाशित भएको थियो।
२०४५ सालतिर उनले लीलालेखन पढ्न थाले। त्यसबारे स्पष्ट कुनै किताबहरू थिएनन्। दान खालिङ, गणेशबहादुर प्रसाईंहरूको संगतले उनलाई लीलालेखनले पनि तान्यो। धरावासी भन्छन्, ‘आँखाले देख्दा या कविता तथा कथामा सम्पूर्णताको लेखन हुनुपर्छ भन्ने तेस्रो आयामको सिद्धान्त हो।’
तेस्रो आयामको शक्तिशाली विन्दु वस्तुता हो। वस्तुको अवस्थालाई बुझ्नु महत्वपूर्ण पक्ष थियो। कुनै वस्तुको नाम राख्नुअघि वस्तु हुन्छ वस्तुको बारेमा केही ज्ञान छैन भने चिन्नका लागि हामीले नाम दिन्छौं उनी भन्छन्, ‘सुर्यबाट धेरै किरण आउँछन् रे। ‘रे’अघि ‘एक्स’ राखियो। पछि ‘एक्सरे’ भयो, जसले फोटो खिच्छ। त्यो वस्तुबाट मुक्त भएर नाम पायो। विभिन्न ‘रे’मध्ये नाम बन्यो। हरेक चिजलाई परिचय दिएपछि त्यसको वस्तुता सकिएर एउटा निश्चित नाम हुन्छ । तेस्रो आयामको पावरफुल कुरा यही हो।’
लीलामय जीवन
सत्य त आ-आफ्नो हुन्छ। सबैको सत्य कहाँ मिल्छ र। फेरि सत्य हुबहु लेख्न सकिँदैन। लेखनमा चित्रात्मकताको प्रयोग हुनुपर्छ भन्ने लीलालेखनले खोज्यो। उनी भन्छन्, ‘जीवनचाहीं लीलामय रहेछ।’
लीलालेखनले तेस्रो आयामका वस्तुताहरू बोकेर लग्यो। निर्विकल्प सत्य हुँदैन भन्न थाल्यो। आयामेलीहरूले सम्पूर्णतालाई लिनुपर्छ भन्ने थियो तर लीला लेखनले छोड्यो । उनी केही मुस्कुराएर भन्छन्, ‘मैले जीवनलाई लीलामा भेटें।’
लीला लेखनलाई दर्शनसँग जोडिएको देख्छन्, धरावासी। सांस्कृतिक रूपले मान्छे कहीं न कहीं छुट्टिन्छ। संसारभरिको संस्कृतिलाई स्वीकार्दा पनि विशेष रूपमा हिन्दु आर्य संस्कृतिबाट प्रभावित भएको छ। हिन्दु आर्य संस्कृतिअन्तर्गत् बौद्ध, जैन संस्कृतिबाट बढी प्रभावित भएको छ। दर्शन पनि त्यसरी नै आइरहेको छ, शायद। उनी भन्छन्, ‘लीलालेखनले यही दर्शनलाई समाएर हिँड्यो।’
संसारमा धर्म परिवर्तन धेरैले गरिरहेका हुन्छन्। तर, धर्म परिवर्तन भए पनि संस्कृति परिवर्तन हुन सकेको छैन। मान्छेले सजिलै संस्कृति त्यागेर जान सक्दैन । उनी भन्छन्, ‘लीलालेखनले पूर्वीया दर्शन, परम्परा, संस्कृति र धर्मको दार्शनिक पक्षलाई अँगालिरह्यो।’
हिन्दु संस्कृतिमा ३३ कोटी देउता छन्। ३३ कोटी देउता पूज्ने मान्छेहरू मिलेरै बसेका छन्। ‘सुप्रिम पावर’ नै ब्रह्मा, विष्णु, महेश हुन्। तीनै भगवानलाई आफ्नै तरिकाले मानिन्छ। उनी भन्छन्, ‘हाम्रो संस्कृति नै पूर्ण प्रजातान्त्रिक छ । यसैलाई लीलालेखनले पिँधमा राखेर हिँडेको छ।’
‘अमिबा’जस्तो उत्तरआधुनिकता
उत्तर आधुनिकता भनेको वायुमण्डलजस्तो हो भन्छन् धरावासी, जसले अनेक वादहरू बोकेर हिँडिरहेको हुन्छ। उनी आफ्नो बोध व्यक्त गर्दै भन्छन्, ‘अरूले बुझेको उत्तरआधुनिकतालाई रूढ सिद्धान्तभित्र हालिदिए। उत्तर आधुनिकताले परिभाषालाई स्वीकार्दैन।’
उत्तर आधुनिकता भन्ने चिजचाहिँ अमिबा भन्ने एक कोषीय जीवजस्तो लाग्छ, उनलाई। जसले छिनछिनमा आकार फेरिरहन्छ।
उत्तर आधुनिकताले भनेका धेरै कुरा लीलालेखनले पनि भनिरहेझैं लाग्छ। उनी भन्छन्, ‘प्रगतिवादीहरूले यसलाई स्वीकार्दैनन्। र, मैले पनि परिभाषा गर्न सक्दिनँ । हामीले फरक देखाउनैपर्छ भन्ने पनि छैन।’
आख्यानको जीवन
नेपाली साहित्यमा आख्यान बग्रेल्ती आइरहेका छन्। साहित्य बजारमा आख्यान वर्षात्को नदीजस्तो ठान्छन्, धरावासी।
यदि बाँध बाँधिएको छैन भने नदी बगिरहेको हुन्छ। बगिरहेको नदीमा के के बगेर आउँछ। बगेर आएको कहीं रोकिँदैन। केवल बगिरहन्छ। बगेर आउनेमा राम्रा चिज पनि आउँछन्, नराम्रा पनि आउँछन्। उनी भन्छन्, ‘तर, आउनुपर्छ। आउनै छोड्यो भने त राम्रा कुरा पनि रोकिन सक्छन्।’
२०५६ सालमा ‘शरणार्थी’ छापियो। उनका उमेरका सबै कवि थिए। निबन्धकार पनि थिएनन्। तर, पहिलो किताब ‘निबन्ध संग्रह’ ०४८ सालमा आएको थियो । एकदमै थोरै थिए।
२० वर्षअघि उपन्यासकार धु्रवचन्द्र गौतम परैबाट देखिन्थे। उनको समयमा कवितामा बढी थिए । अहिले भने कथा, उपन्यासतिर नयाँ पुस्ता आयो।
उनी भन्छन्, ‘प्रजातन्त्रको उपलब्धी हो यो। तपाईंले लेखेपछि सेन्सर गराउनुपर्दैन। पञ्चायत कालमा पाण्डुलिपी सीडीओ कार्यालयमा पुग्थ्यो। सुब्बाले रातै बनाएर काटेर दिन्थे। सबै हटाएपछि के किताब हुन्थ्यो र?’
उनको बुझाइमा पञ्चायतकालमा साहित्यको विकास नै हुन सकेन। बनारसबाट प्रगतिवादी साहित्य आयो। र, दार्जिलिङबाट तेस्रो आयाम आयो । भीडमा राम्रा–नराम्रा दुवै खालका साहित्य कृति आइरहेका छन्। उनी भन्छन्, ‘अहिले त राम्रा-राम्रा किताब पनि आएका छन्।
अहिले निजी प्रकाशन सक्रिय छन्। नयाँ लेखक आउन सजिलो भएको छ। पहिले प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशन मात्रै थिए। उनी सम्झिन्छन्, ‘०५० सालमा साझामा नारीभित्र त्यस्तो के छ ? निबन्ध संग्रह दर्ता गराएँ। पाण्डुलिपी १० वर्ष अड्कियो। अर्को कविता संग्रह ०५३ देखि ०६० सालसम्म छापिएन।’
त्यस्तो अवस्थाबाट अहिलेका लेखकले गुज्रनु परेको छैन। ‘क्यु’मा बस्नुपरेको छैन। राम्रा किताब छाप्न झन् गाह्रो छैन। तर, लेखकहरूलाई अनुबन्धित गर्दा प्रकाशकहरू अल्झिएका छन्। सोचेजस्तो किताब हुन नपुग्दा लेखक पनि पछि परेको उनको बुझाइ छ। उनी भन्छन्, ‘लेखकलाई स्वतःस्फूर्त लेख्न दिनुपर्छ।’
लेखकलाई सेन्सरभन्दा बढी लेख्ने स्वतन्त्रता दिनुपर्छ भन्ने लाग्छ, उनलाई। पाठकलाई धेरै ढाँटियो भने किताब रोकिन सक्ने दुविधा पनि छ। लाखौं किताब रहेका पुस्तकालयमा सबै किताब राम्रा हुन्छन् भन्ने छैन।
वार्षिक हजारौं किताब निस्किन्छन्। सयौं किताबमा १० वटा राम्रा आए पनि पुग्छ। पाठकको पनि आफ्नै बौद्धिक स्तरको हुन्छ। धरावासीको ‘राधा’ मन पराइएको आख्यान हो। कसैले टुँडाल मन पराए। पाठकहरू किताबलाई छुट्याउन सक्ने भएका छन्। तर, निरन्तर लेख्ने लेखकले कत्ति निराश हुनुहुँदैन। प्रशंसा र निन्दा दुवै हुन्छन्।
तर, उनी आख्यानमा चुनौती देख्छन्। भन्छन्, ‘यो आख्यानको भेलमा लेखक र प्रकाशकहरूले गुणस्तर कायम गरेनन् भने पाठक भड्किन थाल्छन्।’
अन्य भाषामा नेपाली साहित्य अनुवाद हुन थालेको छ। उनी भन्छन्, ‘अनुवादमार्फत् अन्तर्राष्ट्रियकरण गर्दा हामीले स्तरीय किताब लैजान सकियोस्।’
आख्यानमा छुटेको प्रेम
नेपाली साहित्यमा आख्यानतिर प्रेम र दर्शन छुटिरहेको छ। किन त? आख्यानमा प्रेम छुटिनहालेको बताउँदै उनी भन्छन्, ‘अहिलेको आख्यानमा फितलो प्रेम आइरहेको छ।’
प्रेम र दर्शन नछुटाउनका लागि पढ्न जोड लगाउनुपर्ने उनको धारणा छ । तर, अहिलेका धेरै पुस्ताले कम पढ्नभन्दा बढी लेख्न लागिरहेको तर्क पनि छ, उनको । भन्छन्, ‘अघिल्लो पुस्ताले कम पढेको छ भन्छन् । सबैले आफ्नो पुस्ताको अहम् बोकेर भावहरू व्यक्त गरिरहेका छन्।’
उनले आफूले एसएलसी दिँदाको बीचमा रजनिश ओशोको किताब पढेका थिए । बाइबल पनि पढेका थिए। कुरानहरू पढे। उनी भन्छन्, ‘दर्शन र प्रेम उठाउनका लागि पूर्वीय दर्शन स्रोत हो।’
अहिलेका लेखकले राम्रो लेखेको उनको ठम्याइ छ। र, अहिलेको पुस्ताले पाश्चात्य साहित्यतिर पनि झुकाव राखेकोप्रति उनी गदगद छन्। उनी भन्छन्, ‘दर्शन बुढो हुँदै गएपछि पढ्ने होइन। बुढो भएपछि चेतनाको क्रान्ति सेलहरू मर्दै जान्छ। उमेरमै हो दर्शन पढ्ने।’
घर फर्किएपछि धरावासी
अमेरिकाको बसाईमा उनले अध्ययन गरे। तर, विदेशी भूमिको यात्रा गर्दै नेपाली अक्षरहरूमा सिर्जना फुराए। उनी पाँच वर्ष अमेरिका बसे । कागजको मान्छे, ग्रेटफल्स, तल्लोबाटो, रेडस्काइर र लीलाबोध किताब लेखे। एउटा फिल्म ‘भोर’ पनि अमेरिकामा बसेर लेखे। उनी भन्छन्, ‘अमेरिका बसेर पनि मैले नेपाली साहित्य नै लेखें, जो नेपालमै बसेका समकालीन साथीहरूले लेखे कि लेखेनन् मेरो प्रश्न हो ?’
अमेरिकामा उनी रमाउन सकेनन्। घरायसी चाँजोपाँचो मिलाएर उनी फेरि स्वदेश नै फर्किए। घुमफिर गर्न जहाँ गए पनि नेपाली साहित्य सिर्जनामै लागिरहेका छन् । तर, उनलाई समकालीन मित्रहरूले देशै छाडेर अमेरिका भासिइन् पनि भने। तर, पाँच वर्षमा बर्सेनि नेपाल आएर पाँच किताब प्रकाशन गरे।
अमेरिका सधैंलाई छाडेर स्वदेश फर्किए। नेपाल आएपछि हरेक साहित्यिक कार्यक्रममा ‘अमेरिकाबाट आउनुभएका आख्यानकार कृष्ण धरावासी’ भनेर मञ्चमा बोलाउँदा उनलाई साह्रै पीडा हुन्छ। उनी भन्छन्, ‘उनीहरूले ठूलो बनाएको होला तर अमेरिकाबाट फर्किएको कृष्ण धरावासीभन्दा मलाई साह्रै पीडा हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४