धनगढी- बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बझाङको केदारस्युँ गाउँपालिका-५ मा ४ चैतमा बेलुकीपख खेतमा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा कालङ्गा हाइड्रोपावरमा काम गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्त माल्दा जिल्लाका २९ वर्षीय बिजय राजवंशी र २२ वर्षीय सन्तान मुर्मु भन्ने सनातन मुर्मु रहेका छन्।
महिलामाथि जबरजस्ती करणी गरेर नाकमा लगाएको सुनको नथिया, कानका रिङ, घाँटीमा लगाएको तिलहरी र मंगलसुत्र गरी कूल ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।