काठमाडौं- कांग्रेसको आगामी भदौभित्र हुने भनिएको महासमिति भेला निर्धारित मितिमा हुने विषयमा अन्योलता बढेको छ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखी शुरु गरेको आमरण अनशनप्रति ऐक्यबद्धतालगायत समसामयिक समस्या अगाडि सार्दै कांग्रेसले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गरिरहेकाले महासमिति भेला केही पर सर्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
पार्टीको दुई महिनाअघिको केन्द्रीय कार्यसमिति बैठकले महासमिति भेला आगामी भदौ मसान्तभित्र गर्ने भनिए पनि स्थान र मिति तोकिएको छैन। मुलुक संघीय संरचनामा गएको तीन वर्षपछि पार्टी विधानमा सोहीबमोजिम संगठनात्मक संरचना निर्माण गर्न विधान संशोधन गर्ने निर्णय पार्टीले गरेको थियो।
विधान संशोधन गर्ने अधिकार महासमितिलाई छ । तर, महासमितिमा पेश गर्ने विधान मस्यौदा समिति गठनको विषयलाई लिएर शीर्ष नेताबीच सहमति बन्न सकेको छैन। मस्यौदा समितिमा बस्ने चार सदस्यको नाम नेता रामचन्द्र पौडेलले नदिएका कारण समिति घोषणा हुन नसकेको सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन्।
प्रवक्ता शर्मा भने पार्टीमा शीर्ष नेताबीचको सम्बन्ध आन्दोलनका कारण झन् प्रगाढ भएको दाबी गर्छन्। भन्छन्, ‘सरकारका संविधान र जनहित विपरितका कार्यशैलीविरुद्ध कांग्रेसले थालेको आन्दोलनका कारण महासमिति भेला केही पर सर्न सक्छ तर त्यसले नेताहरूमा एकता अभिवृद्धि गरेको छ।’
नेताहरूबीच सहमति भएपछि केही दिनमै विधान मस्यौदा समिति गठन हुने शर्मा बताउँछन्। महासमिति भेला केही दिन पछि सर्दा त्यसले पार्टीको आन्तरिक जीवनमा खासै फरक नपार्ने उनको भनाइ छ ।
कांग्रेसले १५ साउनमा मूल्यवृद्धि, निषेधाज्ञा, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि अपमानजनक व्यवहार र संविधानको धारा ९२ को उपधारा २ को कार्यान्वयन गर्न माग गर्दै ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णयलाई सक्रियतापूर्वक कार्यान्वयन गर्न आव्हान गरेको छ।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन प्रवक्ता शर्माले भने, ‘डा. गोविन्द केसीको अनशनलाई अन्तिम बनाउने विश्वासका आधारमा विधेयकप्रतिको कांग्रेसले पेश गरेको विरोधको सूचना संसदबाट फिर्ता लिएका छौं।’
माथेमा कार्यदलको निष्कर्ष र अध्यादेशको मूल मर्मविपरित वर्तमान सरकारले संसदमा विधेयक ल्याएका कारण नै बितेको एक महिनाभरी मुलुकमा द्वन्द्व चर्किएको शर्माले बताए। उनले डा. केसीको लामो अनशन, संसदमा नेपाली कांग्रेसको सशक्त प्रस्तुती, सडकमा हजारौंको प्रदर्शनपछि अन्ततः जनभावनाको कदर गर्न सरकार बाध्य भएको उनले बताए।
विगतमा सरकारमा रहँदा कांग्रेसले शुरुवात गरेको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र अग्रगतिको एजेन्डालाई विपक्षमा रहँदा पनि निरन्तरता दिने शर्माले बताए। उनले भने, ‘डा. केसी र सरकारबीच भएको सहमति कार्यान्वयनका लागि ढिलाइ नगर्न प्रदर्शनमार्फत् सरकारलाई खबरदारी गरिनेछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४