सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानका पूर्वक्रिकेटर इमरानको 'नयाँ इनिङ', भारत चिन्तित

पाकिस्तानका पूर्वक्रिकेटर इमरानको 'नयाँ इनिङ', भारत चिन्तित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा राष्ट्रिय सभाका २७२ सिटमध्ये राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानले ११५ सिटमा जित हात पारेसँगै नयाँ इनिङको शुरुवात गरेका छन्। सन् १९७१ देखि १९९२ को समयसम्म क्रिकेट दुनियाँका बादशाह इमरान खानले अन्तर्राष्ट्रिय क्रकेट करियरमा दश हजार रन बनाएका छन् भने ५५० विकेट आफ्नो नाममा दर्ता गराएका छन्। 

यतिमात्र नभएर सन् १९९२ मा अष्ट्रेलियामा भएको विश्वकप क्रकेटमा खानको नेतृत्वमा गएको टोलिले उपाधी पाकिस्तानको नाममा दर्ता गराउन सफल भएका थियो। खान आक्रमक, कठोर र कुशल कप्तानका रूपमा चिनिन्थे। एक नाटकिय ढंगले राजनीतिमा प्रवेश गरेका ६५ वर्षिय खान प्रधानमन्त्री बन्ने निश्चित भएसँगै नयाँ इनिङ्को शुरुवात भएको छ। क्रिकेटमा जस्तै राजनीतिमा पनि उनी बोल्ड र चातुर्यपूर्ण ढंगले अघि बढेका छन्। उनको नयाँ इनिङ्को शुरुवात विश्वकप क्रकेटमा ११ जनाको टोली लिएर मैदान उत्रिनुभन्दा एक हजार गुणाले चुनौतिपूर्ण छ। 

जम्मा २७२ सिटका लागि भएको राष्ट्रिय सभामा खानले २६७ सिटको मतगणना सकिदासम्म खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले ११५ सिटमा जित हात पारेसँगै गठबन्धन सरकार बनाउनुपर्नेछ। सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ। खानले भने आफ्नो दल विजयी भएको विहीबार नै घोषणा गरिसकेका छन्। 

१९९६ मा गठन भएको (पिटिआई) ले सन् १९९७ को चुनावमा एउटा पनि सिट जितेन भने २००२ मा भएको दोस्रो चुनावमा खान मात्र विजय भएका थिए। उनी निराश देखिएनन्। बरु कल्याणकारी राज्य, सुशासन र राष्ट्रवादका पक्षका चर्का नारा र आक्रमक निर्णयसहित राजनीतिको मैदानमा डटि रहे। धाँधलीको आरोपमा पिटिआईले २००८ को चुनावनै बहिष्कार गऱ्यो। सन् २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्तिको रुपमा उदायो। अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई चर्को रुपमा उठाउँदै आएका उनले यसपटको चुनावमा ‘नयाँ पाकिस्तान’ को नारासहित जित हासिल गरेका छन्।

उनको प्रमुख प्रतिपक्षी पूर्वप्रधानमन्त्री नवाफ शरिफको पार्टी  पीएमएल-एनले ६४ सिट हात पारेको छ भने तेस्रो स्थानमा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ४३ सीट जितेको छ। बिलावल हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन्।

विपक्षीले नतिजा नस्वीकार्ने

पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ। प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। चुनावमा धाँधली भएको आरोप लगाइए पनि इमरान खानको पार्टीको आकारले थुप्रै पर्यवेक्षकहरूलाई नै चकित पारेको बीबीसीले जनाएको छ।

ती विपक्षी पार्टीहरूको संयुक्त छलफलपछि इस्लामाबादमा एक पार्टी नेताले आफूहरू पुन: निर्वाचनको माग गर्दै आन्दोलन गर्ने बताएका छन्। प्रतिद्वन्द्वी पार्टीमा पूर्व सत्तारुढ दल पीएमएल-एन पनि छ, जसले यसअघि आफू विपक्षमा बस्न तयार रहेको बताएको थियो।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भइ जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफले पार्टीले संसद् बहिष्कार गर्ने वा नगर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन्। पत्रकार सम्मेलनमा शरिफकै छेउमा बसेका एमएमए पार्टीका नेता तथा प्रवक्ता मौलाना फजालुर रहमानले फेरि चुनाव गराउनका लागि आफूहरू आन्दोलन गर्ने र प्रदर्शनहरू हुने बताएका छन्।

तर, खानले भने अहिलेसम्मकै सबैभन्दा 'फेयर' चुनाव भएको दाबी गरेका छन्। उनले कसैमा शंका लागेमा पुन: मतगणना गर्न सकिने समेत बताएका छन्। इयुले पनि पाकिस्तानी निर्वाचन आयोगको प्रशंसा गर्दै चुनावी वातावरण त्यती स्वच्छन्द नभएको टिप्पणी गरेको छ। 

खानको उदयले दिल्ली चिन्तित

क्रिकेटको मैदानमा भारत विरुद्ध सँधै आक्रमक र सफल कप्तान रहेका ६५ वर्षिय खान पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै नयाँदिल्लीमा चिन्ता र आशंका दुवै देखिएको छ। विशेषगरी खान र उनको पार्टी पिटिआईलाई सत्तामा पुर्‍याउन पाकिस्तानी सेनाले खेलेको भूमिकाप्रति नयाँदिल्लीका विश्लेषक र अधिकारी बढी नै चासो देखिन्छन्। त्यो चासोका पछाडि भारतीय संस्थापनको पूर्वप्रधानमन्त्री नवाज सरिफप्रति नरम दृष्टिकोण हुनु पनि हो ।

सेनाको सहयोगमा सत्तामा पुगेका खान नेतृत्वको सरकारसँग सम्बन्ध अगाडि बढाउन सहज नहुने दिल्लीको बुझाई छ। विशेषगरी खानले सरकारको नेतृत्व गरे पनि विदेश र आन्तरिक मामिलामा सैनिक नेतृत्व हावी हुने आशंका दिल्लीको छ। नयाँदिल्लीका एक सुरक्षा मामिला जानकारले पनि खानको विजयलाई भारतका लागि ठूलो ‘सेटब्याक’ भएको दाबी गरे। ‘एउटा लोकतान्त्रिक मुलुक भारतले सेनाको बलमा सत्ता पुगेको सरकारलाई कसरी सहकार्य गर्न सक्छ,’ उनले भने ।

त्यसमाथि चुनावपछि दिएको पहिलो मन्तव्यमै खानले आफ्नो सरकारको ध्यान चीनलगायतका मुलुकसँग सम्बन्ध सुधारमा केन्द्रित हुने बताएर दिल्लीलाई थप सशंकित तुल्याएका छन। उनले चाइना पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) मा लगानी गरेको भन्दै चीनको प्रशंसासमेत गरे। प्रस्तावित सिपेक विवादास्पद कश्मिर भूभाग भएर जाने भएकाले त्यसप्रति शुरुदेखि नै आपत्ती जनाउँदै आएको छ । खानको छवी भारतविरोधी रहे पनि आफ्नो जित सुनिश्चित भएपछि दिएको मन्तव्यमा आफू भारतसँगको सम्बन्ध सुधार गर्न चाहेको बताएउँदै आएका छन्। -एजेन्सीको सहयोगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।