काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण गरेकी छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरी माननीय सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई २० वटा ह्वील लक र ८८ वटा म्याजिक लाइट हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी साधन र सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङलाई नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरण सहयोगस्वरुप उपलब्ध गराइएको बताइन्।
महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरण प्राप्तीमा सहरी विकास मन्त्रालय तथा विकास प्राधिकरणको अग्रसरतालाई धन्यवाद व्यक्त गरे। उनले हस्तान्तरण भएका उक्त उपकरणले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।