बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धवलागिरि गाउँपालिकामा जुवातास बन्द भएपछि महिलालाई राहत

धवलागिरि गाउँपालिकामा जुवातास बन्द भएपछि महिलालाई राहत

जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

म्याग्दी- धवलागिरि गाउँपालिका-१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ। जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन्। 

स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउँछिन्। ‘जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा झगडा हुने क्रम घटेको छ’, उनले भनिन्, ‘श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थालेका छन्। सामाजिक सद्भाव र शान्ति कायममा मद्दत पुगेको छ।’

समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लबको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो। दुई सय ६५ परिवार बस्दै आएको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ। विसं २०७४ देखि जुवातास बन्द गरिएको थियो। गाउँमा दैनिक आठ/दशवटा खाल बनाएर पुरुष तास खेलेर समय बिताउँदा सामाजिक समस्या देखिएपछि जुवातास बन्द गर्ने निर्णय लिइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

‘जुवातास बन्द गराउँदा केही व्यक्ति आक्रमण गर्न आए’, उनले भने, ‘अहिले धेरैले बुझेका छन्। समाजिक सुधारमा सहयोग पुगेको छ। घरायसी झगडा र विवाद घटेको छ।’ जुवातासमा भुल्नेहरू अहिले विकास आयोजनामा मजदुरी, खेती किसानी, जडीबुटी सङ्कलन र घरायसी काममा महिलालाई सघाउन थालेका छन्। 

महिलालाई घरायसी कामको बोझ घटेको पुर्माकुमारी विकले बताइन्। आम्दानी हुन थालेपछि घरव्यवहार चलाउन सहज भएको उनको भनाइ छ। यसअघि विकास आयोजनामा श्रमदान र ज्यालामा काम गर्ने महिलाको सङ्ख्या अत्यधिक थियो। हाल फुर्सद भएका सबैले काम गर्छन्। खेतबारी र घरायसी काममा श्रीमान् श्रीमतीसँगसँगै हुन्छन्। 

विकाससँगै रोजगारी र आम्दानीको अवसर मिलेको इन्द्रबहादुर छन्त्यालले बताए। ‘ज्येष्ठ नागरिक र विद्यालय जाने बालबालिकाबाहेक सबै काममा हिँड्छौँ’, उनले भने, ‘दुई वर्ष पहिला रु दुई करोडभन्दा बढीको बजेटका योजना आउँदा हरेक घरमा रु एक लाखभन्दा बढी भित्रिएको थियो। स्थानीय सरकार आएपछि गाउँमा रोजगारी र आम्दानीको अवसर मिलेको छ।’

भौगोलिकरूपमा विकट गुर्जाका बासिन्दाले यसअघिको दुई आर्थिक वर्षमा गल, घन, कुटो, कोदालो, बाउसो, बेल्चालगायत उपकरण प्रयोग गरी दुई किलोमिटर सडक खनेका थिए। गुर्जामा यस वर्ष स्वास्थ्य चौकी भवन, दुई झोलुङ्गे पुलसहित ११ योजना सम्पन्न हुँदै छन्। ओमथान र दुलढुनाको स्टिल ट्रस पुल र ६ लाखको मलामी आश्रयस्थलको काम सकिएको छ। अन्य योजना कार्यान्वयनका क्रममा छन्।    रासस

प्रकाशित: Mar 23, 2022| 10:20 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।