सल्यान- राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ चोरखोलामा सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोका कारण बा२क ८०७० नम्बरको एक्स्काभेटर पुरिएको छ। पहिरोमा परी एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन्।
मंगलबार राति एक्कासि माथिबाट आएको सुख्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालक २७ वर्षीय हिमनाथ योगी घाइते भएका हुन्।
सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ। सुख्खा पहिरोले एक्स्काभेटर पुरिएपछि राप्ती राजमार्ग १० घण्टादेखि यातायात अवरुद्ध भएको छ।
स्थानीय तथा प्रहरीको सहयोगमा समयमै चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
सडक माथिबाट पहिरोसँगै ठूला–ठूला ढुंगासमेत खसेकाले हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले अनुमान गरेको छ।