महोत्तरी- प्रहरीले एक भारतीय नागरिकलाई महोत्तरीबाट हतियारसहित पक्राउ गरेको छ। महोत्तरीको समसीस्थित सशस्त्र प्रहरी बल बोर्डर पोष्टले हतियारसहित नेपाल प्रवेश गरेको भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्ति भारत सीतामढी जिल्ला झिटकैयाका १८ वर्षीय जितेन्द्रकुमार राय रहेको बताइएको छ। रायलाई सशस्त्र प्रहरीले समसी-१ पर्सादेवाड गाउँबाट नियन्त्रणमा लिएको हो। राय हतियारसहित नेपाल प्रवेश गरेको स्थानीयले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो।
बी आर ०६ एक्यू १३४९ नम्बरको मोटरसाइकलसहित नेपाल प्रवेश गरेका रायको साथमा एकथान पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र ३ राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरी निरीक्षक विदुर ढकालले जानकारी दिए। पक्राउ परेका रायलाई हतियार र मोटरसाइकलसहित नेपाल प्रहरीको जिम्मा लगाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४