काठमाडौं– जिल्ला प्रहरी कार्यालय तनहुँले बलात्कार आरोप लागेका कलाकार पल शाहसँगै उनका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ। शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र उचित क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले जोशीलाई आधा कैद सजायको मागदाबी गरेको हो।
‘नाबालिका १६ वर्षभन्दा कम उमेरको देखिएकाले मुख्य अभियुक्त शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गरिएको छ,’ तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने, ‘निजका सहयोगी कृष्ण जोशीले मतियारको भूमिका खेलेको पाइएकाले उनलाई पनि आधा सजायको मागदाबी गरिएको छ।’ जोशीले लामो समयदेखि पलको म्यानेजरका रुपमा काम गरिरहेका थिए।
२७ फागुनमा पक्राउ परेका जोशीलाई तनहुँ प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरेको थियो।
विभिन्न प्रलोभन देखाउँदै जबर्जस्ती करणी गरेको आरोपमा नाबालिगका पिताले पलविरुद्ध जाहेरी दिएपछि गत फागुन १५ गते उनी प्रहरी नियन्त्रणमा पुगेका थिए। प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर उनीविरुद्धको कसुरमा २१ दिन अनुसन्धान गरेको थियो। यो बीचमा प्रहरीले पीडित, आरोपित शाह, घरधनी र घटनासँग जोडिएका अन्य व्यक्तिको बयान लगायत अन्य प्रमाण संकलन गरेको थियो।
उता उही पीडितले पूर्वी नवलपरासीको गैँडाकोटमा पनि पलविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिएकी थिइन्। म्यूजिक भिडियो सुटिङका क्रममा त्यहाँ रहेको गैँडाकोट रिसोर्टमा पलले नाबालिगमाथि मदिरा पिएर त्यहाँ पनि करणी गरेको आरोप उनीमाथि छ। गैँडाकोट प्रहरीले भने गत बिहिबार नै अनुसन्धान सकाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आधारमा त्यहाँको जिल्ला सरकारी वकिलको कार्यलयले पललाई १४ वर्ष कैद र ४ लाख क्षतिपुर्तिको मागदाबसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भइसकेको छ।
घटनास्थल फरक फरक जिल्लामा भएकाले दुवै अदालतमा फरक फरक हिसाबले मुद्दा प्रक्रिया अघि बढेको हो। तनहुँ जिल्ला अदालतमा अब थुनछेक बहस हुनेछ। तनहुँमा थुनछेक बहस सकिएलगत्तै उनलाई पूर्वी नवलपरासी लगिनेछ। पूर्वी नवलपरासी अदालतले थुनछेक लगत्तै त्यहाँ उपस्थित गराउन तनहुँलाई पत्राचारसमेत गरिसकेको छ।