काठमाडौं- ग्लोबल आइएमई बैंकले आफ्नो मोबार्इल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रविधिमा आधारित थुप्रै विशेषताहरु थप गरि पहिलो पटक नयाँ रुपमा ल्याइएको छ। आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शुक्रबार (साउन ११) देखि आफ्नो मोवाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई परिमार्जन गरेको हो।
बैंककाअनुसार अद्यावधिक गरिएको मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत 'क्युआर कोड' को माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ। साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको छ।
बैंकको नयाँ ग्लोबल स्मार्ट सुबिधाअन्तर्गत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने ‘सेल्फ रजिस्ट्रेशन’ सुविधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ।
फोनपेको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ। थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डर इन्ट्रिगेशन सुविधाहरु छन्।
यसअघि पनि ग्राहकले ग्लोबल स्मार्टमार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने सुविधा रहेकोमा यि सम्पूर्ण सुविधालाई नयाँ रुपमा ग्राहक सामू प्रस्तुत गरिएको छ।
बैंककाअनुसार सेवामार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन्।
नयाँ प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ ०७२ सालदेखि नेपालमा पहिलोपटक सुरु गरिएको थियो। यो दौरानमा अहिले पहिलो पटक क्युआर कोडको माध्यमबाट रकम भुक्तानी तथा रकमान्तर गर्न सक्ने भएको छ।
ग्राहकहरुले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी सेवा उपभोग गर्न सक्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४