म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ। मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो। मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए। ‘प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर कालोपत्र हुन्छ’, उनले भने, ‘बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रका लागि तयार भएको छ।’
प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो। एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्र गर्न लागिएको हो। ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्र गरिसक्ने बताए।
विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो। संघबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो।