बिहीबार, कात्तिक ५, २०८३

म्यानमारको आकाशमा अड्कियो 'हिमालय-२'

 |  सोमबार, भदौ ११, २०७५

उपेन्द्र पोखरेल

उपेन्द्र पोखरेल

सोमबार, भदौ ११, २०७५

काठमाडौं- नेपालको आकाश हुँदै पूर्वी एसियाबाट उत्तरी एसिया जाने छोटो दूरीको हवाई मार्गको विषय म्यानमारको आकाशमा रहेको प्राविधिक समस्याका कारण अड्किएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक दीपक बरालका अनुसार हिमालय-२ रुटमा पर्ने म्यानमारको आकाशमा भेरी हाई फ्रिक्वेन्सी (भीएचएफ) 'कभरेज' कमजोर रहेका कारण कार्यान्वयनमा आउन नसकेको हो । ६ पुस ०७३ मै भारतले उक्त रुटका लागि सहमति दिइसकेको छ । चीनले त १२ फागुन ०७० मै द्विपक्षीय हवाई सेवा सम्झौताका क्रममा हिमालय-२ को विकास र प्रबद्र्धनका लागि सहमति दिएको थियो । 

बंगालको खाडीको 'ट्राफिक कन्जेस्सन' घटाउन हिमालय-२ हवाई रुट प्रयोगमा ल्याउनेबारे नेपाल, भारत, चीनलगायत यसमा पर्ने सबैजसो मुलुक सहमत भइसकेका छन् । म्यानमारको काचिन प्रान्तको उत्तरी भेगमा भीएचएफ 'कभरेज' कमजोर छ । सोही कारण यो रुट सञ्चालनमा आउन नसकेको हो । 

प्राधिकरणका निर्देशक बरालका अनुसार प्राविधिक समस्या समाधानको पहलका लागि तीन महिनाअघि मन्त्रालयलाई पत्राचार गरिएको थियो । मन्त्रालयले कूटनीतिक पहल गरिरहेको जानकारी पाएको उनी बताउँछन् । 

के हो हिमालय-२ ?

भारतको नयाँदिल्ली एफआईआर (फ्लाइट इन्फरमेसन रिजन)बाट महाकाली हुँदै नेपाल प्रवेश गरेर हिमालयको दक्षिणबाट मेची हुँदै निस्किने हवाई रुटलाई हिमालय-२ नाम दिइएको छ । मेचीबाट भारतको बागडोगरा, आसाम हुँदै म्यानमार, चीनको कुन्मिङ र हङकङ जोड्छ, यो रुटले । 
 

नेपालका लागि राम्रो आर्थिक उपार्जनको माध्यम बन्ने हिमालय-२ हवाई मार्ग म्यानमारको आकाशमा प्राविधिक समस्याका कारण १८ वर्षदेखि कार्यान्वयनमा आएन ।



बंगालको खाडीमा लामो समयदेखि कायम हवाई ट्राफिक घटाउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् २००१ मा विकल्पको खोजी थालेको थियो । त्यसका लागि नेपालले हिमालय दक्षिणका तीन वटा रुट प्रस्ताव गर्‍यो । तीमध्ये दोस्रो विकल्प उपयुक्त भएको आइकाओले निष्कर्ष निकाल्यो, जसलाई हिमालय-२ नाम दिइयो । 

कात्तिक ०६७ मा क्यानडाको मन्ट्रियलमा सम्पन्न आइकाओको ३७औं महासभा र सोही वर्ष मंसिरमा थाइल्यान्डको बैंककमा भएको दक्षिणपूर्वी एसियाको हवाई मार्ग समीक्षा बैठकमा यो रुटले गहन छलफलमा प्रवेश पायो । 

मेचीबाट महाकालीसम्मको हवाई रुटलाई नेपालले 'एल-६२६' नाम दिएको छ । यसैमा नेपाल-कुन्मिङ-हङकङ हवाई मार्ग थपिएपछि हिमालय-२ ले पूर्णता पाउने हो । 

'एल-६२६'मा हाल नयाँदिल्लीलगायत काठमाडौंबाट पश्चिमी गन्तव्यमा उडान गर्ने विमानले मात्र सेवा लिइरहेका छन् । काठमाडौं-पारो (भुटान) र पारो-नयाँदिल्ली रुटमा उड्ने भुटानी वायु सेवा कम्पनीहरूले पनि यो रुट प्रयोग गर्दै आएका छन् । 

प्राधिकरणका अनुसार हिमालय-२ कार्यान्वयनमा आउँदा बंगालको खाडीको मार्गको तुलनामा २० मिनटसम्म उडान समय कम हुन्छ । र, एक सय १४ नटिकल माइल बचत हुन्छ । 

यस्तै, बर्सेनि १६ सय ६० टन इन्धन बचत हुन्छ । हरेक वर्ष ५२ सय टन कार्बन उत्सर्जन पनि कम हुन्छ । हाल बंगालको खाडीको आकाशमा बाटो परिवर्तन, इन्धन सकिने र उडानका लागि घण्टौं प्रतीक्षा गर्नुपर्ने समस्या चर्को छ । त्यही ट्राफिकलाई उत्तरी क्षेत्रमा सार्ने योजना हो, हिमालय-२ । 

'म्यानमारको समस्या समाधान भए हिमाल-२ का लागि बाटो खुल्छ,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य भन्छन् । उनका अनुसार उक्त मार्ग हुँदै युरोप र मध्यपूर्वका विमानहरूले कोरिया, जापानलगायत मुलुकमा सीधा उडान गर्न सक्नेछन् । 

बंगालको खाडीको कन्जेस्सन हिमालय दक्षिणमा सार्दा नेपालका लागि आर्थिक उपार्जनको राम्रो माध्यम तयार हुन्छ । र, पर्यटन प्रबद्र्धनमा समेत सहयोगी बन्छ । 

बंगालको खाडी हुँदै उड्ने १५ प्रतिशत विमान मात्र हिमालय-२ मा आए भने नेपालको राजस्व वृद्धिमा सहयोगी हुन्छ । किनकि, एउटा मुलुकको आकाश प्रयोग गरेर अर्कोमा पुगेवापत प्रतिघण्टाका दरले राजश्व बुझाउनुपर्छ । 'नेपाली आकाश प्रयोग गरेवापत अन्तर्राष्ट्रिय वायुयानले नेपाललाई शुल्क बुझाउनेछन्,' आचार्य भन्छन् ।
 
उक्त हवाई मार्गका लागि म्यानमारसँग सहमति जुट्न नसकेको र जुटाउने पहल भइरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन् । 'सहमति जुटाउन कूटनीतिक माध्यमबाट म्यानमारलाई तीन साताअघि पत्र पठाइसकेका छौं,' लामिछाने भन्छन्, 'अहिलेसम्म प्रतिक्रिया आएको छैन ।'
प्रकाशित: Aug 27, 2018| 18:23 सोमबार, भदौ ११, २०७५
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।