काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
उर्मिलाका श्रीमान नविन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहयोग उपलब्ध गराउने बताएका हुन्।
‘कर्तव्य पालनाको सिलसिलामा उनको मृत्यु भएको छ। उनीप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु,’ गृहमन्त्री खाणको भनाइ उदृत गर्दै उर्मिलाका पति नविनले भने, ‘तपाईंहरूले उहाँको काज किरियासम्बन्धी कार्य सिध्याएर सम्पर्कमा आउनुहोला। राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौ।’
फागूपूर्णिमाका दिन चैत ४ गते शिक्षा विकास माद्यमिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो। त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको थियो।
गृहमन्त्री खाणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।