झापा- झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिब एवं विपन्न परिवारका लागि स्वास्थ्य बीमाको शुल्क तिरिदिने घोषणा गरेका छन्।
कलेजका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईंले प्रतिपरिवार ३५०० बीमा शुल्क तिरिदिने घोषणा गरेका हुन्। आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन कसैले नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमा शुल्क तिरिदिने प्रसाईंले बताए।
‘म दानवीर हैन। तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो,' प्रसाईंले भने, 'अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ।’
कार्यक्रममा बोल्दै प्रदेश एकका सांसद बसन्त बानियाँले झापाको पछाडि परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले स्वास्थ्य नागरिक बनाउने विश्वास व्यक्त गरे। सरकारले स्वास्थ्य बीमा बोर्ड यही आर्थिक वर्षबाट ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ।
विसं २०७२ बाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमले दुर्गम क्षेत्रका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य सेवा र उपचारमा सहुलियत दिँदै आएको छ।