काठमाडौं- कांग्रेस सांसद गगन थापाले प्रमुख प्रतिपक्षी दल सुतेको भए आमरण अनशनरत डा. गोविन्द केसी सुतेको सुत्यै हुने बताएका छन् ।
कांग्रेस र आफूलाई षडयन्त्र गरेको आरोप लगाइएकामा थापाले आपत्ती जनाए । 'केही छोटा अभिव्यक्ति आज पनि आएका छन्,’ थापाले भने, 'देश निकाला गर पनि भनियो, छापामारको पोशाकमा आइज पनि भनियो ।’
फेरि पनि डा. केसीसँग भएका सहमतिबारे संशोधन प्रस्ताव ल्याउन जोखिम रहेको उनले औंल्याए । थापाले भने, 'त्यसो भयो भने फेरि पनि संघर्ष हुन्छ । र, फेरि सम्झौता गर्नुपर्छ । संशोधन हाल्न लागिपरेका सांसदहरूले नै दुःख पाउँछन् ।’
डा. केसीसँगको सम्झौतालाई संसदीय प्रक्रियाबाटै कानूनको रूप दिनुपर्ने उनले औंल्याए ।
प्रतिनिधिसभामा अहिले चिकित्सा शिक्षा विधेयकमाथि यसअघि परेका विरोधका सूचनामाथि छलफल भइरहेको छ । कांग्रेस सांसद थापाले आफ्नो विरोधको सूचना फिर्ता लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४