कालीकोट- कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका-१ स्थित मान्ममा सरूवा रोग अस्पताल सञ्चालनमा आएको छ। सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो।
उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी/एड्स, क्षयरोग, कोभिड-१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.रत्नवीर सुनारले बताए। ‘सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,’ उनले भने, ‘जिल्लामा पहिलेदेखि सरूवा रोग अस्पतालको माग भएकामा आइतबारदेखि नियमित सञ्चालनमा आएको छ।’
अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पुर्याउने लक्ष्य राखिएको छ। यसअघि कोभिड-१९का संक्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा.सुनारको भनाइ छ।
उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एक जना रहेका छन्। अस्पताल सञ्चालनमा आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रूपमा सेवा लिन सक्ने छन्।