सोलुखुम्बु- सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छन्। लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो।
गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए। टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ।
‘अहिले टोली आधार शिविरमा बसेको छ’, उनले भने, ‘विगतझैं यस वर्ष पनि साइतअनुसार काम सुरु हुन्छ।’ आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम गर्छन्।
भर्याङ राख्नेदेखि डोरी टाग्नेलगायत काम उनीहरूले गर्नेछन्। आधार शिविरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गरिन्छ।