बुटवल- निर्वाचनका बेला नागरिकलाई सुसूचित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहि सूचना प्रवाहमा अवरोध नगर्न सरोकारवालाहरुले आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीले फ्री मिडिया नेटवर्कअन्तर्गत आइतबार आयोजना गरेको स्थानीय निर्वाचन र मिडियाको भूमिका विषयक छलफलमा सहभागी पत्रकार सम्बद्ध व्यक्ति, जनप्रतिनिधि, प्रहरी प्रशासन तथा नागरिक समाजका व्यक्तिहरुले यस्तो कुरा बताएका हुन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले निर्वाचनलाई लक्षित गरि केन्द्रदेखि जिल्ला तहसम्म नै निर्वाचन आयोगसँग मिलेर अनुगमन संयन्त्र निर्माण गर्न लागेको बताए। उनले फ्री मिडिया नेटवर्क मार्फत प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई संस्थागत गर्दै पत्रकारितालाई विश्वसनीय बनाउन खोजिएको बताए। उनले अब आउने स्थानीय तहको निर्वाचन लक्षित गरि पत्रकारिताले गरेका काम, नागरिक समाज, निजि क्षेत्र र जनप्रतिनिधिहरुले समेत सुझाव दिने गरि नेटवर्कलाई अगाडि बढाउन सकिने बताए।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले लोकतन्त्रको नाममा जे पनि गर्न छुट हुने प्रवृत्ति देखा परेकाले त्यतातर्फ सञ्चारमाध्यम र पत्रकारहरुको ध्यान पुग्नुपर्ने बताए। उनले निकट आएको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिए। अर्का सांसद रमा अर्यालले पत्रकारिताले नै सबैलाई खबरदारी गर्ने भएकाले सत्य उजागर गर्न डराउन नहुने बताइन्।
त्यस्तै अर्का सांसद दीपा विश्वकर्माले पत्रकारहरुले स्वतन्त्र रुपमा समाचार सम्प्रेषण र विश्लेषण गर्न पाउनुपर्ने बताइन्। कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यले सञ्चारमाध्यमले लैंगिकताको सवाललाई ध्यान दिनुपर्ने बताउँदै अब आउने निर्वाचनमा महिला उम्मेद्वारको चर्चा गर्न आग्रह गरिन्।
त्यस्तै उक्त अवसरमा युरोपियन यूनियनका राजदूत नोना डिप्रेजले पत्रकारहरुको सुरक्षा, मिडियाबाट भएका सूचना प्रवाहका सवालमा सबै पक्षले खुलेर छलफल गर्नु सकरात्मक भएको बताइन्।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र कुँवरले प्रशासनले निर्वाचन आचारसंहिता पालना गराउने र पत्रकारहरुलाई सहज रुपमा रिर्पोटिङ गर्ने वातावरण बनाउने बताए।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंले निर्वाचनका बेला पत्रकारहरुलाई समाचार लेखेकै आधारमा असुरक्षा हुने भएकाले यस विषयमा प्रहरी प्रशासन र राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए।