बुधबार, असार ३१, २०८३

विजय बराल : विकेदेखि बादीकान्छासम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विजय बराल थिएटरका कलाकार हुन् । उनले 'डिग्री माइला', 'सिरूमा नानी' 'र-माइलो', 'बिल गेट्स' र 'मितज्यु'जस्ता नाटक खेलिसकेका छन् । पछिल्लो समय नेपाली फिल्ममा समेत व्यस्त हुँदै थालेका उनलाई दर्शकहरू 'कबड्डी'को 'विके' भनेर पनि चिन्छन् । चलचित्र 'पण्डित बाजेको लौरी'मा उनी 'बादी कान्छा'को भूमिकामा देखिएका छन् । प्रायः दलित समाजको पात्रको भूमिकामा देखिने उनीसँग नेपाल समयका लागि राज सरगमले गरेको कुराकानी :

फिल्म र थिएटरबीचमा तपाईंले देखेको फरकलाई कुन रेखाले छुट्याएजस्तो लाग्छ ?

फिल्म पूरै 'टेक्निकल' हो । नाटक भने निरन्तर 'इमोसनल' पाइन्छ । फिल्ममा 'इमोसन' कट हुन्छ, ब्रेक हुन्छ । एक्टिङ गर्ने एउटै हो तर थिएटरमा लाउडनेस हुन्छ र फिल्ममा सफ्ट हुन्छ । क्यामेरामा हामी ढाँट्न सक्दैनौं । भिजुअल नजिक भएकाले स-साना कुरामा ख्याल राख्नुपर्छ । थिएटर एक्टर मिडियम हो । फिल्म टेक्निकल हो । बिग्रियो भने बिग्रियो । फिल्ममा भने निर्देशक हाबी हुने गर्छन् । तर, एउटा कलाकारले दुवैमा उस्तै अभिनय गर्नुपर्छ । 

पछिल्लो समयमा 'स्लो ड्रामा' हराउँदै गएको छ । तपाईंलाई त्यस्ता नाटक गर्न मन छ कि छैन ?

'स्लो नाटक' खतरनाक नाटक लाग्छ । मैले स्लो नाटक खेल्ने सोचले दयाहाङ राईलाई भनेको थिएँ । उहाँले ३/४ वर्ष अझै मेहनत गर भनेपछि केही सिक्नु पर्छ भन्ने लागेर मैले 'स्लो नाटक' खेलिनँ । 
यस्ता नाटक गर्न आँट चाहिन्छ । दर्शकलाई घण्टाभरि होल्ड गर्न सक्नुपर्छ । त्यसो गर्न ठूलै चुनौती छ । म एक्टर भएकाले 'एक्टिङ' गर्ने हो । निर्देशकले गराएको खण्डमा गरिन्छ होला शायद । एउटा 'स्लो ड्रामा' गर्नुपर्छ भन्ने दिमागमा आइरहेको हुन्छ । र, राजनीतिलाई व्यंग्य गर्ने खालका कथामा 'स्लो नाटक' गर्न पाए हुन्थ्यो भन्ने पनि लाग्छ ।

कलाकारितामार्फत् जातीय छुवाछुतलाई न्यूनीकरण गर्न कत्तिको सहज छ ?

थिएटरमा मैले 'सर्जिवन' भन्ने नाटकमा भुत्ते पात्रको भूमिका गरेको थिएँ । काजीको पछिपछि हिँड्ने भुत्ते पात्रले बराल थरको हुँ भन्ने फिल कहिल्यै गराएन । बाजेहरूमा बाहुन संस्कृति भए पनि मभित्र त्यस किसिमको संस्कार लादिएन । 

मेरो जीवनमा विश्वकर्मा थरका साथी धेरै थिए र छन् । 'आर्टिस्टिक' हिसाबले विजय बरालले विकेको अभिनय गरेको छ । अब हरेक गैरदलित थरका कलाकारले अभिनयमार्फत् जातीय मुद्दाविरुद्ध वकालत गरियो भने अभिनयभन्दा बाहिर पनि वकालत गर्न सकिन्छ । र, जुन मुद्दामा हामीले वकालत गरेका हुन्छौं, आम दर्शकले पनि त्यही पक्षमा बोल्ने मान्छे हो भनेर सोचिरहेको हुन्छ । 

फिल्ममा 'आर्टिस्टिक' भूमिकामा हुने परिवेश र विजय बरालको 'म'लाई कलाकारितामार्फत् क्यारेक्टरमा भिज्नु अगाडिको फिलिङ्स कस्तो हुन्छ ?

म छटपटिन्छु । कुनै-कुनै बेला रोइरहन्छु, एकोहोरिन्छु । पण्डितबाजेको लौरीमा बादीकान्छाको भूमिकामा निर्वाह गरें । कुनै पनि चरित्रले मलाई दिमागमा प्रहार गर्छ । नाटकमा त्यो अझै हाबी हुन्छ । एउटा कलाकारले पात्रको विम्ब बनाएको हुन्छ । पात्रको 'ब्याकस्टोरी'ले झक्झकाइरहेको हुन्छ । 

मैले 'बादीकान्छा' भएर देखाउनुपर्ने थियो, देखाएँ । त्यतिबेला मभित्रको 'म'लाई विजय बरालले बिर्सनुपर्ने हुन्छ । त्यसकारण कलाकारले आफ्नो अस्तित्व बिर्सिएर पात्रको वास्तविक चरित्रमा प्रवेश गर्नुपर्छ । र, त्यसैमा हामी स्थापित हुन खोज्छौं । 

तपाईं फिल्म र नाटकलाई उत्तिकै समय दिइरहनु भएको छ । दुवैका कथामा पात्रहरू हुन्छन् । र, फरक-फरक पात्रको भूमिका निर्वाह गर्नु हुन्छ  । यस्तो अवस्थामा विजय बराल कत्तिको प्रेमिल हुने गर्छन् ?

धेरै प्रेमिल भएको छु । 'सिरुमा नानी', 'बिल गेट्स्', 'डिग्रीमाइला', मितज्यु'जस्ता नाटकमा त्यस किसिमको महशुस भएको थियो । ती पात्रहरूको माया खुब लाग्थ्यो, मलाई । म धेरैपटक रून्थें । नाटक सकिएपछि त्यो पात्र मारेर विजय बराल बाहिरिन्थ्यो । तर, दर्शकले सधैं सम्झन्थे । म रूँदा दर्शक पनि रून्थे । 

'बिल गेट्स' नाटकमा नाटक खेल्ने पात्रलाई एक पेन्टिङ गर्ने केटीले प्रेम गर्थिन् । त्यो प्रेमीको भूमिकामा विजय बराल थियो । ती पेन्टर प्रेमिकाले प्रेमीलाई नाटक छोड्न आग्रह गर्छिन् । तर, प्रेमीले नाटकमै जम्ने सपना देखेको थियो । पछि सपना 'साइको' भयो । त्यो 'साइको' पात्रले मलाई ३/४ महिना शून्य बनाइदिएको थियो । म हेर्दाहेर्दै 'पच' हुने रहेछु । सामुन्नेवालाले मलाई 'के भयो विजय' भन्दा म झल्याँस्स हुन्थें । फेरि एकोहोरो हुन्थें । फेरि 'पच' हुन्थें । ती पात्रहरू प्रिय भइसकेका थिए, जसले गर्दा म प्रेमिल हुन्थें ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।