काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले आफ्नो संसदीय दलको बैठकमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएको छ।
दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा बिहीबार बेलुका केसीसँग भएको सहमतिबारे जानकारी गराएका थिए।
बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए।
चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरुले गरेको नेता नेम्वाङले बताए। उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत काँग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरे।
नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताको उपस्थिति थियो।
यस्तै आजको बैठकमा संसद्मा अब प्रस्तुत हुने रणनीतिका बारेमा पनि छलफल भएको छ । केहि दिनदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसदको कामकारबाही सञ्चालन हुन सकेको छैन् ।
डा गोविन्द केसीको मागसम्बोधन लगायतका एजेन्डा अगाडी सारेर उसले संसद अवरुद्ध गर्दै आएको थियो । कांग्रेसले डा केसीको अनशन तोडिएसंगै आजको बैठक अबरोध नगर्ने जनाएको छ ।
आजको बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि सभामुखले प्रस्ताव गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४