सोमबार, कात्तिक ९, २०८३

गोलरक्षक एन्जिलाको जीवनीमा आधारित फिल्म ‘अन्जिला’ बन्दै

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर फिल्म ‘अन्जिला’ निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर फिल्म ‘अन्जिला’ निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो। मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्ममा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ। उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायतको अभिनय रहनेछ।

एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए। उनले फिल्मको घोषणा सभामा भने, ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई फिल्ममा देखाउने छौं। सफल खेलाडी बन्नु अगाडि एन्जिलाले गरेका दुःखहरू धेरै छन्, त्यसलाई फिल्ममा विशेष जोड दिनेछौं। इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ।’

उनी फिल्मलाई ठ्याक्कै एन्जिलाको बायोपिक भन्न भने रुचाउँदैनन्। चाम्स अगाडि भन्छन्, ‘एन्जिलाकै कथाबाट फिल्म प्रभावित छ। ७५ प्रतिशत चाहिँ एन्जिलाकै जीवनी देखाउने छौं। २५ प्रतिशत भने वास्तविक कथासँग जोडिएका अन्य कथालाई जोड्नेछौं। कसैको आत्मसम्मानमा ठोस नपुगोस् भनेर कथामा केही मोडिफाइड गरेका छौं।’

खेलमा पोख्त एन्जिला पहिलोपटक अभिनयको पनि अनुभव बटुल्दैछिन्। आमाकै खातिर पनि फिल्ममा अभिनय गर्न लागेकी उनी अहिले मण्डला थिएटरमा अभिनय सिकिरहेकी छन्। फिल्ममा आफ्नोतर्फबाट सकेको काम गर्न कुनै कसर नछाड्ने उनी बताउँछिन्। उनले कसैको दबाब र प्रभावले फिल्ममा अभिनय गर्न नलागेको पनि स्पष्ट पारेकी छन्। आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो ठूलो उपलब्धि रहेको उनको भनाई छ।

त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गरे। उनले भनेका छन्, ‘कलाकार भएको हिसाबले खेलकुदलाई नजिकबाट हेरिरहेको हुन्छु। तर, खेलाडीको जीवनबारे भने कमै जानकारी हुन्छ। ‘अन्जिला’बाट खेलकुदलाई अझ नजिकबाट निहाल्ने मौका पाएको छु।’ उनले फिल्ममा निर्वाह गर्ने चरित्रको बारेमा भने जानकारी दिएनन्।

निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्मलाई देखाइने जानकारी दिए। १३ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए।

एन्जिलाकै जीवनीमा फिल्म बनाउन लाग्नुको कारणबारे निर्माता श्रेष्ठले भने, ‘एन्जिलाको जीवनीमा नै फिल्म बनाउने निर्णय किन गर्‍यौं भने, उसको कथा इन्स्पायर्ड छ। खेल क्षेत्रमा संघर्ष गर्ने पात्रहरूको प्रतिनिधित्व गर्दै एन्जिलाको जीवनीमा फिल्म बनाउन लागेका हौं। उसको संघर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायर्ड गर्छ भन्नेमा विश्वस्त छौं।’

निर्माता श्रेष्ठले खेलकुदको विषयमा र वास्तविक पात्रले नै अभिनय गर्ने ‘अन्जिला’ पहिलो नेपाली फिल्म हुने र यो फिल्मले एउटा इतिहास बोक्ने विश्वास व्यक्त गरे। उनी यसपछि अरू खेलाडीको कथामा पनि फिल्म बनाउने सोचमा छन्। उनी भन्छन्, ‘मेरो नजरमा ४/५ जना परिसकेका छन्। यो फिल्म सफल भयो भने अर्को वर्ष सुमन लिम्बुको जीवनमाथि फिल्म बनाउने सोच बनाएको छु।’

फिल्म घोषणा सभामा प्रमुख अतिथिको रूपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे। एन्जिलाको जीवनीमा बन्न लागेको फिल्म खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने मन्त्री गहतराजको विश्वास छ। उनले भविष्यमा अरू पनि खेलाडीको जीवनीमा चलचित्र बनाउन आग्रह गरेका छन्।

केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन्। विनोद अग्रवाल र राजेश अग्रवाल सह–निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन हुनेछ। यम थापाको कथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन्। फिल्मको घोषणा सभामा खेलकुद मन्त्री महेश्वर गहतराजसँगै खेलकुद सचिव दीवाकर रेग्मी, आइजिपी शैलेन्द्र खनाल लगायतको पनि उपस्थिति रहेको थियो।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन्। सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन्। तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन्। त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन्। एन्जिला ’पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी छन्। यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन्।

प्रकाशित: Mar 20, 2022| 11:49 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।