सुर्खेत- नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ।
दलका नेता महेन्द्रबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जनाएका हुन्। विष्टले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेसँगै उनलाई माओवादीले पार्टीबाट निलम्बित गरेको हो।
उनले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो। तर, उनले उक्त निर्देशन अवज्ञा गरेको निलम्बन गरिएको शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।