काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायुसेवा कम्पनीलाई तत्काल बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको छ। प्राधिकरणले बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीहरूलाई तत्काल बक्यौता नतिरे कारबाही गर्ने चेतावनी दिएको हो।
तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको हो।
वायुसेवा कम्पनी तथा संचालकहरूले बुझाउनु पर्ने वक्यौता रकम बुभाउन पटक–पटक पत्राचार गर्दा पनि वक्यौता चुक्ता गर्न नआएपछि प्राविधकरणले २०७६ आसोज, २०७७ माघ र २०७८ भदौमा सार्वजनिक सूचना प्रकाशित गर्दै वायुसेवा कम्पनी तथा सञ्चालकहरुलाई बक्यौता चुक्ता गर्न आग्रह गरेको थियो।
'प्राधिकरणले असुल गर्नुपर्ने रकम नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ वमोजिम सरकारी वाँकी सरह प्राधिकरणले असुल उपर गर्न पाउने अधिकार प्राधिकरणमा सुरक्षित छ। विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० (३) अनुसार प्राधिकरणलाई बुझाउनु पर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरुलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसंग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने अधिकार प्राधिकरणमा रहेको छ,' प्राधिकरणले भनेको छ।
प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बाँकी बक्यौता रकम उल्लेखित वायुसेवा कम्पनीले प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाण्डौको जम्मा गरी सक्कल भौचर प्राधिकरणको प्रधान कार्यालय, अर्थ विभागमा बुझाई बक्यौता रकम फरफारक गर्न सूचनामार्फत आग्रह गरेको हो।
क्यानले नेकोन, शिवानी, गोरखा, माउण्टेन एयर, कस्मिक, स्काईलाइन र एयर काष्ठमण्डपलाई ९ करोड १७ लाख रुपैयाँ बुझाउन भनेको छ।
क्यानका अनुसार नेकोनका सञ्चालकहरु दीपमणि राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार ३५३ रुपैयाँ बुझाउन बाँकी छ।
साथै, शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार ५३ रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा, उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ बुझाउन बाँकी छ।
क्यानका अनुसार माउण्टेन एयरका सञ्चालकहरु प्रज्ञान शमशेर जबरा, सिद्धिका राणा र शिवेन्द्रबहादुर बस्नेतले ६ लाख १० हजार ८३४ रुपैयाँ र कस्मिक एयरका सञ्चालक क्याप्टेन रविन्द्र प्रसाद प्रधानले ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बुझाउन बाँकी छ। साथै, स्काइलाइन एयरवेजका सञ्चालकहरु आङ छिरिङ शेर्पा, मिङ्मा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार ४०० रुपैयाँ बुझाउन बाँकी छ।
त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार ४४७ रुपैयाँ बुझाउन बाँकी छ।