काठमाडौं- इटालियन शीर्ष डिभिजनको फुटबल सिरी ए मा नापोलीले जित निकालेको छ। नापोलीले घरेलु मैदानमा उडिनेसमाथि २–१ को जित निकालेको हो।
एक गोलले पछि परेको अवस्थाबाट नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुवै गोल गरे। खेलको ८२ औंमिनेछटमा १० खेलाडीमा समेटिएको उडिनेसले २२ औं मिनेटमै सुरुआति अग्रता बनाएको थियो।
गेरार्ड डेउलोफिउले घरेलु टिमविरुद्ध गोलगर्दै अग्रता बनाएका उडिनेसले त्यो अग्रता जोगाउन सकेन।
शनिबार राति नै सम्पन्न भएको अर्को खेलमा एसी मिलानले क्यालिग्रीविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको छ। क्यालिग्रिको मैदानमा एसी मिलानलाई जित दिलाउन इस्माइल बेनसरले गोल गरे।
त्यस्तै, इन्टर मिलानले भने घरेलु मैदानमा १-१ को बराबरी गरेको छ। एक गोलले पछि परेको अवस्थाबाट इन्टरमिलानले बराबरी गरेको हो। यो बराबरीसँगै इन्टर मिलान शीर्षस्थानको एसी मिलानभन्दा छ अंकले पछि छ।
त्यस्तै, दोस्रो स्थानको नापोलीको ६३ अंक रहेको छ। ६६ अंकका साथ एसी मिलान शीर्षस्थानमा छ। नापोली र मिलानले समान ३०–३० खेल खेलेका छन् भने इन्टरले एक खेल कम खेलेको छ। चौथो स्थानको युभेन्टसको ५६ अंक छ।