काठमाडौं- 'शोभा, पत्र अरूलाई नदेखाउनु, भाइहरूले पनि हेर्ने छैनन् । पहिलेका मानिसहरू अरूको पत्र हेरेमा पाप लाग्छ भन्ने विश्वास गर्छन् । व्यावहारिक रूपले बुझ्ने हो भने अरूको गुप्त जीवन वा लोग्ने स्वास्नीको कुरा सुन्न वा पत्र हेर्नु स्वयं भलाद्मीपनमा गनिँदैन । पुराना दम्पत्तीहरूले त आफ्ना कुरा अरूले थाहा पाए लाज पनि मान्छन् । त्यो भावना मसँग पनि छ, यस मामिलामा म पनि पुरानै छु ।'
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नी पत्नी शोभालाई कात्तिक ०४६ मा आफ्ना पत्रहरू गोप्य राख्न अह्राउँदै लेखेका पंक्ति हुन्, माथिका ।
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनले पनि जेल, नेल र यातना भोगे । जेल जीवनका अनेक अनुभव छन्, बिजुक्छेका । भाषाको समस्याका कारण बयान दिन नजान्दा धेरै निर्दोषले सजायँ पाएको उनले आफ्नै आँखाले देखे ।
एक तामाङ युवकलाई प्रहरीले अदालत पुर्यायो । उनीविरुद्ध अभियोग थियो, गाई काटेर खाएको । बिजुक्छेले उनलाई सोधे, किन ल्याएको ? ती युवकले आफूलाई थाहा नभएको जवाफ दिए ।
अदालतमा न्यायाधीशले उनलाई सोधे, गाई काटेर खाएको हो ? जवाफमा उनले हो भने । बुझ्दै जाँदा उनले मरेको गाईको सिनो खाएका रहेछन् ।
जेलमा गोरखापत्रबाहेक अरू भित्र लान निषेध थियो । बिजुक्छेका साथीहरूले एउटा क्रान्तिकारी किताब जेलमा पठाउने जुक्ति निकाले ।
जुजु धौको कतारोमुनि किताब राखे । र, उनलाई राखिएको नख्खु जेल पठाए । दहीका दुई कतारा जेल पुर्याइयो । र, उनलाई दहीमुनि केही रहेको संकेत गरे ।
उनले एउटा कतरो खोले, हेर्दा केही भेटेनन् । उनलाई लाग्यो केही रहेनछ । त्यसैले दहीको अर्को कतारो जेलरलाई पठाइदिए । तर, त्यसैमा थियो, उनलाई पठाइएको किताब । र, त्यो जेलरको हात पर्यो ।
'दुई कतरा दही के गर्नु भनेर जेलरलाई दिएँ । जेलरले कतरामुनिको किताब देखाउँदै तपाईंले मेरो जागिर खाइदिने हुनुभयो भन्दै भेटघाटमै कडाइ गरे,' उनी भन्छन् ।
वर्षाको पानीले खुर्सानी बगाउँथ्यो, उनीहरू माछा भन्दै टिप्थे । भूगोलको परीक्षामा प्रश्न थियो, 'पानी परे के हुन्छ ?' उनले लेखे, माछा टिपिन्छ ।
पानी परे के हुन्छ ? माछा टिपिन्छ
त्यसबेलाको काठमाडौंमा 'आधार कक्षा'को चलन थियो । उनी पनि त्यसैमा भर्ना भए । बिजुक्छेले भर्ना पाएको विद्यालयको कुरा बेग्लै थियो ।
कक्षामा अक्षर चिनाउने त छँदैछ, खेतीपाती गर्न, चर्खा चलाउन र टेबल बनाउन सिकाइन्थ्यो । ६ वर्ष टेक्दै गरेका बिजुक्छेलाई त्यतिबेला पीटी पनि खेलाएको याद छ । आधार कक्षामै कुटोले बाली गोडमेल गरेका थिए, उनले ।
आधारभूत तह सकेर उनी भक्तपुर फर्किए । र, श्रीपद्म हाइस्कुलमा कक्षा २ मा भर्ना भए । पहिलो वर्ष नै तेस्रो हुँदै कक्षा ३ मा पुगे । त्यसवापत राणाको हातबाट पुरस्कार पनि पाए । पुरस्कार दिने राणाको नाम भने याद छैन अहिले ।
भक्तपुरमा त्यतिबेला नेवारी भाषा मात्र बोल्ने चलन थियो । पाठ्यपुस्तकहरू भने सबै नेपाली भाषामा हुन्थे । पानी परेपछि बाहिर सुकाएको खुर्सानी बगाउँथ्यो, उनीहरू माछा भन्दै टिप्थे । भूगोल विषयको प्रश्नपत्रमा लेखिएको थियो, 'पानी परे के हुन्छ ?' उनले लेखे, माछा टिपिन्छ ।
'भाषाले यस्तो समस्या हुँदो रहेछ, त्यस्तो उत्तर लेखेपछि फेल हुन्थ्यौं,' उनी भन्छन् । इतिहासको पुस्तकमा आर्यहरू गोरा हुन्छन् भनेर पढ्थे । नेवारी भाषामा गोरा भनेको मोटो हो । अनि, जाँचमा आर्यहरू कस्ता हुन्छन् भनेर प्रश्न आउँथ्यो । उनी लेख्थे, मोटा हुन्छन् ।
उनका बाबु सरकारी जागिरे थिए । त्यही सिलसिलामा बाबुको गौर सरुवा भयो । उनी पनि बाबुसँगै गौर पुगे । उनले कक्षा ५ र ६ गौरमै पढे ।
त्यसबेला उनी पढेको स्कुलमा माधव नेपालका बाबु हेडसर थिए । अर्का एक नेपाली शिक्षक थिए, अरू सबै भारतीय । त्यसैले स्कुलमा बिहान प्रार्थनाका बेला भारतीय राष्ट्रिय गान 'जन गण मन भारत भाग्य विधाता' गाउन लगाइन्थ्यो ।
एक पटक गौरमा नेत्रदान महायज्ञ चल्यो । त्यसमा आँखाको शल्यक्रिया गर्न आएका मानिसहरूलाई बिजुक्छेले राम्रै सेवा गरे । आँखा सफा गरिदिने, पानी बोकेर ल्याउने । कक्षा ६ पढेपछि उनी फेरि भक्तपुर आए ।
एक महिनामा टिफिन खर्च एकै दिनमा झिरिप्प
बिजुक्छेले स्कुल पढ्दा महिनामा एक पटक खर्च पाउँथे । उनलाई महिनाभरि पुर्याउन भन्दै १५ रुपैयाँ दिइन्थ्यो । त्यतिबेला त्यो ठूलो रकम थियो ।
तर, साथीहरूसँग मिलेर उनले त्यो पैसा एकै दिनमा सक्थे । पैसा हातमा पर्नासाथ साथीहरूको हुल लिएर सिनेमा हलतिर दौडिन्थे । त्यसबेला उनलाई नङकटाई (रोटी) खुब मन पथ्र्यो । सिद्धपोखरी वरिपरिका पसलमा एक कप चिया पाँच पैसामा पाइन्थ्यो, नङकटाईको मूल्य ५६ पैसा ।
बिजुक्छे सिनेमाका खुबै पारखी । तर, सधैं थर्ड क्लासमा बसेर हेर्नुपथ्र्यो । सिनेमा हेर्न भने काठमाडौंका हलहरू जयनेपाल, विश्वज्योति र रञ्जना पुग्नुपथ्र्यो ।
'भक्तपुरबाट २५ पैसा तिरेपछि लरी चढेर काठमाडौं जान पाइन्थ्यो, थर्ड क्लासका टिकटको ७० पैसा पथ्र्यो,' बिजुक्छे भन्छन् । उनका अनुसार त्यसबेलाका सिनेमा हलमा चार प्रकारका टिकट हुन्थे, चौथोबाट माथि गणना हुन्थ्यो ।
साथीलाई पार्टीमा ल्याउन तीन महिना मिहिनेत गरे, अन्तिममा दुवैले बोकेको रसिद एउटै रहेछन् ।
सदस्य बनाउन खोजिएका सहपाठी पहिले नै पार्टीमा
कलेज जीवन शुरु गर्दा बिजुक्छेमा पूरा राजनीतिक चेतना आइसकेको थियो । उनलाई कलेजमा न कसैले प्रेम पत्र लेखे, न त उनले नै । उनको पूरै ध्यान राजनीतिमा मोडियो । भक्तपुर कलेजमा पढ्दाको एउटा रोचक अनुभव छ, उनको ।
कलेजमा देशभरबाट आएका विद्यार्थीलाई आफ्नो पार्टीमा ल्याउनु थियो । त्यसैले १० जना पार्टी समर्थकहरू १० वटा बेन्चमा अलग-अलग बस्न थाले । त्यसको एउटै कारण थियो, उनीहरूसँग नजिक हुने ।
पहिला साथी बनाउने अनि पार्टीमा ल्याउने रणनीति थियो त्यो । बिजुक्छे पनि त्यही रणनीतिअनुसार एउटा बेन्चमा बसे । एक जनालाई पार्टीमा ल्याउन तीन महिना मिहिनेत गरे । तर, अन्तिममा थाहा पाए, उनीहरूको पार्टी त एउटै रहेछ ।
'उसलाई पार्टीमा ल्याउन तीन महिना मिहिनेत गरें, अन्तिममा उसले बोकेको रसिद र मैले बोकेको रसिद एउटै पो रहेछ । पार्टीले विवरण दिएपछि मात्र कुरा अगाडि बढाउने निर्णय भयो,' उनी सम्झिन्छन् ।
रक्सीका विरोधी
नेवारको छोरो भएर पनि रक्सी खाँदैनन्, बिजुक्छे । नेवारी परम्परा धान्न सगुन भने लिन्छन् ।
उनका अनुसार भक्तपुरमा त्यसबेला रक्सी पसल थिएनन् । पछि जर्मन प्रोजेक्ट भक्तपुरमा गएपछि खाजा खाने पसल खुले । उनी चुरोट भने खान्थे, सन् १९६० देखि छाडे ।
अहिले उनको कुनै अम्मल र शोख छैन । किताब पढ्न भने निकै आनन्द लाग्छ, उनलाई । रमाइलो गर्नुपर्दा पनि राजनीतिक विषयमै बढी चासो राख्छन् । जिन्दगीमा उनले नाच्ने, गाउने गरेनन् । सानो उमेरमा हार्मोनियम बजाउन सिके । त्यसमा पनि सारेगमभन्दा अगाडि बढेनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४