काठमाडौं- अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका-१४ रातोडाँडाबाट नियन्त्रित लागूऔषध फेनारागन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल र नुर्फिन ४५ एम्पुल सहित सोही महानगरपालिका-११ रानीपौवा बस्ने मादी गाउँपालिका-३ घर भएका २५ वर्षीय राजेन्द्र परियारलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस्तै, बाराको विश्रामपुर गाउँपालिका-१ ब्रम्हचोकबाट करिब २० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारत मोतिहारी पूर्वी चम्पारण बिहार कुसमाहबा टोल बस्ने ३६ वर्षीय मोहमद मासुमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एफ ५१५६ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक मोहमद मासुमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ८ सय ट्याब्लेट प्रतिबन्धित औषधि ट्रामाडोलसहित दाङ तुल्सीपुर उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय बिकास विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका विकलाई उक्त औषधिसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।