बुधबार, असार ३१, २०८३

प्रदेश राजधानी बन्‍ने होडबाजी : मासिक ५ करोडको खेल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- प्रदेश-१ को स्थायी राजधानी अझै तोकिएको छैन । विराटनगर, इटहरी, धरान र धनकुटाबीच राजधानीका लागि तानातान छ । त्यसको भित्री पाटो हो, राजधानी कायम भएपछि बढ्ने आर्थिक चहलपहल ।

हाल विराटनगरलाई प्रदेश-१ को अस्थायी मुकाम तोकिएको छ । विराटनगर, इटहरी, धरान र धनकुटा करिडोरलाई नै राजधानी तोक्नुपर्ने बहस पनि शुरु भएको छ। 

प्रदेशसभामा राजधानीको विषय नै प्रवेश भएको छैन । प्रदेश मन्त्रिपरिषद्ले राजधानीको बिजनेस दिनासाथ संसदले टुंगो लगाइने भए पनि अझै बिजनेस नआएको सभामुख प्रदीपकुमार भण्डारी बताउँछन् । मुख्यमन्त्री शेरधन राई भने साउनभित्रै स्थायी राजधानी र प्रदेशको नामाकरणको मुद्दा टुंगिने बताउँछन् । 

प्रदेशसभा र मन्त्रिपरिषद् बनेको पाँच महिना कटिसके पनि अझै टुंगो नलाग्नुमा राजधानी बन्न लालायित शहरहरूको संख्या धेरै भएर नै हो ।

कुनै एक स्थानमा राजधानी तोक्दा विवाद हुने भयका कारण तत्काल गर्न सकिने काममा पनि ढिलाइ भएको बुझिन्छ । राजधानीका लागि इटहरी, धरान र धनकुटाले आन्दोलन, चक्काजामदेखि अनशनसम्मका कार्यक्रम गरेकाले प्रदेश क्याबिनेट र प्रदेशसभाले यो विषयमा तत्काल टुंगो लगाउने जाँगर देखाएको छैन । 

राजधानीमा थपिनेछ मासिक पाँच करोडको कारोबार

राजधानी कायम हुँदा मुख्यमन्त्री र मन्त्रीहरू भेट्न सहज हुनु मात्रै होइन । यसका धेरै आर्थिक, सामाजिक र राजनीतिक फाइदाहरू छन् । प्रदेश सत्तासँगको दैनिक उठबस मात्रै नभएर थुप्रै आर्थिक क्रियाकलापहरू प्रदेश राजधानी बन्दा पाउने देखिन्छ । नेपाल समयले यसको केस्रा केलाउने प्रयास गरेको छ । 

सांसद र मन्त्रीको कुराबाटै हिसाब शुरु गरौं । ९३ जना प्रदेश सांसद भएको प्रदेश-१ को राजधानी भएको क्षेत्रमा आउने अनिवार्य जनसंख्या यस्तो छ :

१) प्रदेश प्रमुख : एक

२) मुख्यमन्त्री : एक

३) मन्त्रीहरू : १० जना

४) मुख्यमन्त्री र मन्त्री संख्या घटाएर कुल सांसद : ८२ जना 

५) प्रदेशमा हाल दरबन्दी रहेका कर्मचारी संख्या : चार सय ३३ जना 

यसरी प्रदेश-१ मा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख तथा अन्य सांसद र कर्मचारीको एकमुष्ठ संख्या पाँच सय २७ जना हुनेछन् । 

प्रदेश प्रमुख र मुख्यमन्त्रीदेखि उच्च पदस्थहरूका परिवारसमेत जोड्दा थपिनेछन् १४ सय २८ जना, जसको मासिक खर्च पाँच करोडभन्दा बढी हुने आकलन गरिएकाे छ।


यस्तै, प्रदेश प्रमुखदेखि सांसदसम्मका सचिवालय सदस्य अनिवार्य हुन्छन् । यसको प्रस्ट व्यवस्था प्रदेश-१ को मुख्यमन्त्री तथा मन्त्रीहरू, सभामुख, उपसभामुख र सांसदहरूले पाउने सेवा सुविधाबारेको विधेयकमा गरिएको छ । ती विधेयकहरू अनुसार निजी सहयोगी, कार्यालय सहयोगी, सवारी चालक, स्वकीय सचिवदेखि सल्लाहकारसम्मका सचिवालयहरू रहन्छन् । त्यसको संख्या यस्तो छ :

१) प्रदेश प्रमुखको सचिवालय : १२ जना 

२) मुख्यमन्त्रीको सचिवालय : १३ जना 

३. मन्त्रीको सचिवालय : सात जनाका दरले १० जनाको ७० जना 

४) सभामुखको सचिवालय : ६ जना 

५) उपसभामुखको सचिवालय : ३ जना 

६) प्रमुख प्रतिपक्षी दलको नेताका सवारी चालक र स्वकीय सचिवसहितको सचिवालय : २ जना 

७) सत्तापक्षको प्रमुख सचेतकको सवारी चालक र स्वकीय सचिवसहितको सचिवालय : २ जना 

८) प्रमुख प्रतिपक्षको प्रमुख सचेतकको सवारी चालक र स्वकीय सचिवसहितको सचिवालय : २ जना 

९) बाँकी रहेका ७७ सांसदहरूको १/१ स्वकीय सचिव : ७७ जना 

यसरी प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सचेतकहरू र सांसदका सचिवालयको संख्या एकमुष्ठ रूपमा एक सय ८७ जना हुन्छन् । र, प्रदेश प्रमुखदेखि सांसदको सचिवालय सदस्य सबैको एकमुष्ठ संख्या हुन्छ, सात सय १४ जना । 

सचिवालयमा बस्नेहरूका परिवार उनीहरूसँगै हुनेछन् । हरेक परिवारमा औसत दुई जनाका दरले जोड्दा १४ सय २८ जना हुन आउँछन् । हो, यो जनसंख्या प्रदेश राजधानीमा दैनिक रूपमा जोडिन्छ । र, उनीहरूको दैनिक खर्च प्रदेश राजधानी भएकै शहरमा जोडिनेछ । 

केही समयअघि नेपाल समयले एक शहरमा साधारण जीवन बाँच्नलाई घरभाडादेखि भान्सासम्म पढाइ, उपचार र मनोरञ्जनबाहेकको खर्च २५ हजार रुपैयाँभन्दा बढी लाग्ने आँकडा प्रकाशित गरेको थियो । तर, प्रदेशका महत्त्वपूर्ण ओहोदामा बसेकाहरूलाइ मासिक २५ हजार रुपैयाँले मात्रै पुग्दैन । 

औसतमा उनीहरूको खर्चलाई मासिक ३० हजार रुपैयाँ मान्दा १४ सय २८ जनाको मासिक खर्च चार करोड २८ लाख हुने देखिन्छ । यो त साधारण खर्च मात्रै भयो । यसमा शिक्षा, स्वास्थ्य, यातायात र मनोरञ्जन अनि प्रदेश राजधानीसँगै बढ्ने अन्य चहलपहलको थप व्याख्या गरिएको छैन । अझ राज्यमन्त्रीहरू र प्रदेशका कर्मचारीहरू आवश्यकताअनुसार थप भएमा यो खर्च विवरण झनै बढ्ने देखिन्छ । 

मोटामोटी रूपमा प्रदेश राजधानी मात्रै हुँदा त्यहाँ जोडिएको अनिवार्य जनसंख्याले मासिक पाँच करोड रुपैयाँको कारोबार बढाउने देखिन्छ । यसमा प्रदेश राजधानी भएसँगै राजनीतिक, कूटनीतिक, विभिन्न दातृ निकाय तथा एनजीओ/आईएनजिओहरूको चहलपहल पनि स्वत: बढ्छ । 

प्रादेशिक कामहरूमा धेरै आवागमन बढ्छ । अझ राजधानी बसेको शहरका चक्रपथ, सिटी हल, खानेपानी र पर्यटन क्षेत्रमा पनि थुप्रै परियोजनाहरू पर्छन् । किनभने, प्रदेशको राजधानीसँग जोडिने परियोजनाहरूको सम्बोधन गर्न, नीति तथा कार्यक्रम ल्याउन, परियोजनाहरू पार्न र बजेट विनियोजन गर्नु स्वाभाविकै हो । यसले थप आर्थिक चहलपहल बढाउनेछ । 

यो रकमको असर चिया पसलदेखि डिपार्टमेन्टल स्टोरसम्म हुन्छ । घरवालादेखि पेट्रोलपम्प अनि होटेल सञ्चालकसम्म हुन्छ । शायद यही कारणले होला, प्रदेश-१ को स्थायी राजधानी बन्न सबै शहरहरूको एकैखाले लक्ष्य देखिएको पनि ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।