राँझा- नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ। उनानसाठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए।
उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आउनुभएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए। स्वास्थ्यमा सुधार भएपछि नेपालगञ्जस्थित घरमै स्वास्थ्य लाभ गरिरहनुभएका उनलाई फेरि बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको थियो।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहनुभएका अचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि भएका थिए। उद्योगमा लोकप्रिय छवि बनाएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नगरप्रमुखको उम्मेदवार पनि बनेका थिए।