काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब-स्टेसनको उद्घाटन गरेका छन्। रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सब-स्टेसनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन्।
खिम्ती सब-स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब-स्टेसन हो।
स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सब-स्टेसन निर्माणको काम पूरा भएको छ।
सो सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०–१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ।
न्यू खिम्ती सब–स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ। यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ।