रौतहट- रौतहटको कटहरीया नगरपालिका-९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ। शुक्रबार राति भएको झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाउनु परेको छ।
झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो। स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
घटनाका घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन्।
घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ। उनीहरूलाई उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी जयसवाल पक्षका जटाशंकर साह घाइते भएका छन्। उनको गरुडास्थित एउटा नीजि अस्पतालमा उपचार भैरहेको छ। प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।