झापा- झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
जिल्लाका १५ वटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिएका हुन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राखिनुपर्ने बताएका हुन्। ‘निर्वाचनमा सवारीसाधनको प्रयोग गर्नुपर्ने हुन्छ’, उनले भने, ‘चाहिएका बेला गाडी बिग्रिएको छ भनेर असहयोग गर्ने छुट कसैलाई छैन। सबै गाडीहरु मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्नुहोस्।’
उनले सबै सरकारी कार्यालयमा रहेका सवारीसाधनको लगत र कर्मचारीको विवरण दुरुस्त अवस्थामा राख्न जिल्लास्थित निर्वाचन कार्यालयलाई निर्देशन दिए। चुनावको तयारीका क्रममा कर्मचारी र सुरक्षाकर्मीहरूलाई मतदानस्थलसम्म पुर्याउन धेरै सवारीसाधन आवश्यक पर्ने भएकाले हाल जिल्लास्थित विषयगत सरकारी कार्यालय र १५ वटा स्थानीय पालिकासँग सयौँको संख्यामा सवारीसाधन रहेका छन्। अस्वस्थ, पाका उमेर र चुनावअघि अवकाश पाउने कर्मचारीलाई चुनावमा नखटाउनसमेत उनले कार्यालय प्रमुखहरूलाई आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी रिजालले हरेक पालिकाको मतगणनास्थलमा सिसी क्यामेराको व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिएका छन्। उनले हरेक पालिकामा आवश्यकता हेरी दुई वा तीनवटा स्थलमा मतगणना गरिने र ती स्थानको छनोट गर्न पालिकाहरूलाई आग्रह गरेका छन्।
‘सबै मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामेरा राख्ने व्यवस्था गर्नुहोला’, उनले भने, ‘त्यसो भयो भने निर्वाचनको मतगणना पारदर्शी हुन्छ, हुलहुज्जत हुने सम्भावना रहँदैन।’ जिल्लामा मतदाताको संख्या छ लाख ५० हजार २५८ छ भने २८६ मतदानस्थल र ७६० मतदान केन्द्र छन्। जिल्लामा १५ पालिका र १३१ वडा छन्। रासस