सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कानुनी हदम्यादका कारण पहिले नवलपुरमा मुद्दा दर्ता, यस्तो छ पलको बयान र प्रहरी दाबी

कानुनी हदम्यादका कारण पहिले नवलपुरमा मुद्दा दर्ता, यस्तो छ पलको बयान र प्रहरी दाबी

बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको छ। तनहुँ प्रहरीले भने अहिलेसम्म अनुसन्धान सकेको छैन।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं– एक नाबालिग गायिकालाई बलात्कार अभियोगमा कलाकार पल शाहविरुद्ध बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयले शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको हो। 

National life

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी परेकोमा गैंडाकोट प्रहरीले भने मुद्दा दर्ता गरेको हो। बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी (पूर्व) ले १६ पेजको अभियोग पत्रसहित मुद्दा दायर गरेको छ। तनहुँ प्रहरीले भने अहिलेसम्म अनुसन्धान सकेको छैन। 

पीडित किशोरीका बुबाले दिएको जाहेरीमा जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित गैंडाकोट रिसोर्टमा एक दिने सुटिङका लागि छोरीलाई लगेकोमा शाहले एक दिनमा नसकी भोलिपल्ट पनि सुटिङ गर्ने भनी त्यसपछि सुटिङ सार्दै पाँच दिनसम्म उक्त रिसोर्टमा राखेको उल्लेख छ। 

‘नाबालिका छोरी सुतेको कोठामा गई छोरीलाई मादक पदार्थ सेवन गराई पटकपटक जबरजस्ती करणी गरेको कुरा नाबालिका छोरी समेतबाट जानकारी भएको हुँदा मेरो नाबालिका छोरीलाई विवाह गर्छु भनी प्रेमको नाटक गरी जबरजस्ती करणी गर्ने निज प्रतिवादी पूर्णविक्रम शाहलाई कानून बमोजिम कारबाही गरी पाउँ’ जाहेरीमा उल्लेख छ।

जाहेरीअनुसार घटना २०७७ चैत ७ गतेको हो। कानुनी हदम्याद अनुसार घटना भएको एक वर्षभित्रै मुद्दा दायर गरिसक्नुपर्ने भएकोले २०७८ चैत ३ गते मुद्दा दायर गरिएको हो। पीडित नाबालिग किशोरीले पनि आफ्नो बयानमा घटना भएको मिति २०७७ चैत ७ गते, समय राति ११ बजे र ठाउँ गैंडाकोट रिसोर्टको रुम नम्बर १०२ समेत खुलाएकी छिन्।

Shivam cement

घटना भएको भनिएको गैंडाकोट रिसोर्ट प्रालिकी सञ्चालिका सुलोचना कुँवर जिसीले आफ्नो रिसोर्टमा प्रायः कलाकारहरु आउने गरेको र २०७७ चैत ६ गते पनि गीत सुटिङको लागि निर्देशक काजिश श्रेष्ठ, प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह, पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) समेतको सुटिङ युनिट आएको, त्यो दिन उनीहरुले रिसोर्ट बुकिङ गरी अन्यत्र गई भोलिपल्ट ७ गते पुनः आई खाना खाई बास बसेको बयान कागज गरिदिएको बताइएको छ।

तर, उनले प्रत्येक कोठाको चाबी निर्देशक काजिश श्रेष्ठलाई दिएकोमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित कुन कोठामा बसेको आफूलाई थाहा नभएको बताएकी छिन्। त्यसैगरी रिसोर्टका वेटरले पल शाह र उनका साथीहरुले चैत ७ गते बाहिर मादक पदार्थ तथा खाजा–नास्ता खाएका र पीडित नाबालिग किशोरी रिसोर्टको कोठामा सुत्न गएकी र उनीहरु रिसोर्टमा २–३ दिन बास बसी गएको बयान कागज गरेका छन्।

अभियोगपत्रमा उल्लेख भएअनुसार गायक दुर्गेश भनिने दुर्गाबहादुर थापाले पनि चैत ७ गते गैंडाकोट रिसोर्टमा पीडित आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएको र पल शाहसमेतका व्यक्तिहरु मादक पदार्थ सेवन गरी बाहिर बसिरहेको बयान दिएका छन्। उनीहरु कुन कोठामा सुत्न गएको आफूलाई थाहा नभएको र आफू पनि छिट्टै कोठामा सुत्न गएको दुर्गेशले बताएका छन्। उनले २०७८ को असारमा पलका म्यानेजर कृष्ण जोशीले पल र पीडितको सम्बन्धको बारेमा जानकारी दिएकोमा त्यसबारे पीडितसँग बुझ्दा जबर्जस्ती गरेको भनेर बताएकोले आफू, सम्राट चौलागाईं, सरोज ओली, योगेश काजीसमेतले हामी न्यायको पक्षमा छौं, जबरजस्ती गरेको भए कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनी सल्लाह गरेको र अन्य आर्थिक कुराको बार्गेनिङबारे आफूलाई केही जानकारी नभएको बयान दिएका छन्। गीत गाउने, रचना गर्ने र संगीत गर्ने भीमबहादुर विष्टले पनि पीडित र अभियोग लगाइएका पल शाह दुवै सोही रिसोर्टमा बसेको बयान दिएका छन्।

पक्राउ पूर्जी जारी भएपछि प्रहरीबाट लुक्दै पल शाहले फेसबुकमा सार्वजनिक गरेको अडियोमा भएका आवाज मध्येका एक सरोज भन्ने पुण्यप्रसाद ओलीले बयान कागजमा भनेका छन्,  ‘प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा मिडियामा हल्ला चलेको थियो। पीडित गायिका डिप्रेसनमा गएको र मर्छु भनी कृष्ण जोशीले मलाई २०७८ सालको असारमा बताएका थिए। केही दिनमा कृष्ण जोशी, सम्राट चौलागाईं र पीडित अनामनगरको सिलौटो रेष्टुरेण्टमा बसेका रहेछन्। उक्त स्थानबाट कृष्ण जोशीले मलाई फोन गरी हामिहरु पीडितसँगै छौं, दुर्गेश थापालाई लिएर हामी भएको ठाउँमा आउनु, पीडितलाई समस्या परेको रहेछ भनी बोलाएकोले म र दुर्गेश थापा सोही स्थानमा गई निजहरुलाई भेटी कुराकानी हुँदा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई काठमाडौंमा १–२ दिनमा हुने सुटिङलाई काठमाडौंबाहिर कहिले पोखरा कहिले नवलपरासी (पूर्व) मा लगि हेरचाह र ख्याल गरेजस्तो गरी आफूमाथि यौन शोषण गरेको भनि पीडितले बताएकी थिइन्।

प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रूँदै हिँडेको र पीडितलाई बिभिन्न वहाना बनाई गाली गरेर बेइज्जत गर्दिन्छु भनि ह्यारेसमेन्ट समेत गर्दा रहेछन्। पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहिछन्। त्यसपछि हामीहरुले कानुनी कारवाही गर्दा राम्रो हुन्छ भनी सल्लाह दिएको हो।’

प्रहरीले गैंडाकोट रिसोर्टको इन्ट्री बुकको प्रतिलिपिलाई पनि प्रमाणका रुपमा राखेको छ। त्यसमा कोठा नम्बर १०१ देखि ११० सम्म पल शाह, पीडित किशोरीसहितका सुटिङ युनिट बसेको उल्लेख छ। क्यामेराम्यान अर्जुनप्रसाद तिवारी र निर्देशक काजिश भन्ने छत्रबहादुर श्रेष्ठले रुम नम्बर १०२ मा पीडित बसेको र मादक पदार्थ सेवन गरी रुम नम्बर १०१ मा पल शाह सुत्न गएको बयान दिएको अभियोगपत्रमा उल्लेख छ।

पीडितको शारीरिक परीक्षण प्रतिवेदन पनि प्रहरीका लागि बलियो प्रमाण बनेको छ। प्रतिवेदनमा हाइमनल इन्जुरी भएको व्यहोरा भएको अभियोगपत्रमा उल्लेख छ। प्रहरीले अनुसन्धानको क्रममा प्राप्त हुन आएको पल शाहले बोलेको २ मिनेट ३५ सेकेन्डको अडियो रेकर्ड पनि पेश गरेको छ।

पल शाहले भने आफूले जबरजस्ती करणी नगरेको भन्दै इन्कारी बयान दिएका छन्। तर उनले चैत ७ गते राति रिसोर्टमा मादक पदार्थ सेवन गरेको भने स्वीकारेका छन्। त्यसैगरी ८ गते होटल साहुले पीडित राति आफ्नी छोरीसँग सुतेको बताएको दाबी पलले गरेका छन्। ८ गते रुम नम्बर १०१ मा आफू र १०२ मा पीडित सुतेको भने उनले स्वीकारेका छन्। राति साढे ११ बजे पीडितको कोठामा आफू गएको पनि उनले स्वीकारेका छन् तर हिजो होटल सञ्चालककी छोरीसँग सुतेको थाहा पाएकोले ‘तिमीलाई डर लागेको त छैन नि, ल राम्रोसँग सुत’ भनी आफ्नो कोठामा गएको दावी गरेका छन्। होटल सञ्चालककी १२ वर्षीया छोरीले पनि ७ गते राति अन्दाजी १२ बजे पीडित आफू सुतेको कोठामा आई सुतेकोमा कति बेला उठेर गइन् थाहा भएन भनेर बयान कागज गरेको बताइएको छ। पल शाहले उक्त आवाज आफ्नै भएको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ। 

यो मुद्दामा पीडितको उमेर महत्त्वपूर्ण छ। उमेरको प्रमाण जन्मदर्ता प्रमाणपत्रबाट हुने गर्छ। अभियोगपत्रमा उल्लेख भए अनुसार पीडितको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिमा जन्म मिति २०६२–०४–०३ मा भई घटना भएको मितिमा निजको उमेर १५ वर्ष ८ महिना ४ दिनको नाबालिग रहेको देखिन्छ।

कानुनमा  १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने व्यवस्था छ। त्यसैगरी कैद सजायका अतिरिक्त जरिवाना पनि हुने र जरिवानावापत प्राप्त रकम पीडितलाई दिनुपर्ने पनि उल्लेख छ।

यो मुद्दामा तनहुँ जिल्ला अदालतको आदेशले म्याद थप गरी त्यहाँको प्रहरीले अभियुक्तलाई न्यायिक हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। तनहुँ जिल्ला अदालतले सुरुमा ७ र पछि १२ दिनको म्याद थप गरेको थियो। त्यो म्याद सकिएको छैन। म्याद सकिएपछि अनुसन्धान नसकिएको भए अझै म्याद थप हुनसक्छ र अनुसन्धान सकिएको भए तनुहँको सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्छ। मुद्दा दायरपछि त्यहीँको अदालतमा थुनछेकको बहस हुनेछ। अभियुक्तलाई जेलमा राखेर मुद्दा अघि बढाउने कि धरौटीमा छाड्ने भन्ने विषयमा अदालतले आदेश गर्नेछ। अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएमा अभियुक्त जेलमा नै बस्नुपर्ने हुन्छ। 

प्रकाशित: Mar 18, 2022| 13:23 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।