काठमाडौं– प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले जितेको छ। चितवनले बिहीबार पुरुष र महिला दुवैमा च्याम्पियन बनेर दुई उपाधि हात परेको हो।
बाग्मती प्रदेश खेलकुद परिषद्द्वारा आयोजित खेलकुदको पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो। प्रतियोगितामा सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी घोषित भए।
स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल गुरुङ, डिफेन्डरमा चिन्तामणि महतो र ब्लकरमा सुमन तामाङ उत्कृष्ट बने। उत्कृष्ट चारै चितवनका हुन्।
महिलाको उपाधि भिडन्तमा चितवनले रामेछापलाई सीधा सेटमा २५–१३, २५–१८ र २५–११ ले हरायो। चितवनकी आरती सुवेदी उत्कृष्ट खेलाडी बनिन्। स्पाइकरमा रामेछापकी सुनिता गौचन, सेटरमा चितवनकी जोस्ना महतो, डिफेन्डरमा रामेछापकी विमला सुनुवार र ब्लकरमा रामेछापकी प्रेममाया तामाङ उत्कृष्ट ठहरिए।
विजेतालाई बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। चार दिने प्रतियोगिताको पुरुष÷महिलामा समान १२ टिम सहभागी थिए।
पुरुष फुटबलमा दोलखा र ललितपुर सेमिफाइनलमा पुगे। दोलखाले भक्तपुरलाई ३–१ गोलले पराजित गर्यो। विजयी टिमका लागि मिलन श्रेष्ठ, धिरज खत्री र रमेश भट्टराईले गोल गरे। सेमिफाइनलमा दोलखाको भेट मकवानपुरसँग हुनेछ।
ललितपुरले रामेछापलाई टाइब्रेकरमा ४–१ गोलले हरायो। निर्धारित समयको खेल १–१ बराबरीमा सकिएको थियो। सेमिफाइनलमा ललितपुरले धादिङको सामना गर्ने छ।
पुरुष क्रिकेटमा ललितपुर र काभ्रेले सफलता पाए। ललितपुरले दोलखालाई सुपर ओभरमा पाखा लगायो भने काभ्रेले सिन्धुपाल्चोकलाई ९ विकेटले पन्छायो।