काठमाडौं– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत गरेको छ। यो प्रस्तावसँगै त्यहाँ राष्ट्रसंघको मिसन निरन्तरताकोे बाटो खुलेको छ।
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान सरकारलाई विश्वका कुनै पनि देशले मान्यता दिएका छैनन्। सुरक्षा परिषद्को यो निर्णयसँगै राष्ट्रसंघको मिसनले एक वर्ष अफगानिस्तानमा काम गर्नेछ। मिसनले त्यहाँको मानवीय, राजनीतिक तथा मानव अधिकारको क्षेत्रमा सहयोग गर्नेछ।
उक्त प्रस्तावको पक्षमा १४ देशले मत दिएका थिए भने रुस अनुपस्थित रह्यो। पत्रकार, महिला तथा बालबालिकाको सुरक्षा पनि यसमा समावेश छ।
यसअघि गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको थियो। तालिबानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो।
अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन ६ महिनाको म्याद थप गरिएको थियो। मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानव अधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसंघले जनाएको छ।